लकडाउनमा कसरी कर तिर्ने ?
नेपालगन्ज : लामो समयसम्म मुलुक लकडाउन भएपछि धेरैले करदाताले कर विवरण र करहरु बुझाउन सकेका छैनन् ।
यस्तो अवस्थामा सरकारलाई बुझाउनुपर्ने करको अवधि थपिएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगन्जका अनुसार विभिन्न किसिमका कर विवरण र करहरु वैशाख २५ गतेसम्म बुझाउन सकिनेछ ।
यसअघि मूल्य अभिवृद्धि करको फागुन महिनाको मासिक कर विवरण, माघ र फागुनको द्वैमासिक कर विवरण तथा मंसिरदेखि फागुनसम्मको चौमासिक कर विवरण चैत २५ गतेसम्म पेश गर्नुपर्ने हुन्थ्यो । सो अवधिलाई वैशाख २५ गते पु¥याइएको कार्यालयले जनाएको छ । ग्राहकले बुझाउनुपर्ने कर विवरण र चैत महिनामा तिर्नुपर्ने सबै किसिमका करहरु वैशाख २५ गतेसम्म बुझाउँदा कुनै पनि प्रकारको जरिवाना नलाग्ने आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख प्रकाश पौडेलले जानकारी दिए । ‘लकडाउनका कारण बुझाउन नसकेको हरेक प्रकारका कर र विवरणहरु करदाताले वैशाख २५ गतेसम्म बुझाउन सक्नेछन’ उनले भने ।
चैत महिना बार्षिक आयकरको तिस प्रतिशत रकम संकलन हुने महिना समेत भएकाले लकडाउनका कारण त्यो किस्ता रकम पनी बैशाख २५ गतेसम्म तिरे हुने भनेर नेपाल सरकारले निर्णय गरेको उनको भनाइ छ । तर,जुन करदाताले आन्तरिक राजश्व कार्यालयवाट पासवर्ड लिएर अनलाइन विवरण भर्ने गरेका छन उनीहरुलाई भने घरमै बसेर विवरण भर्न कार्यालयले आग्रह गरेको छ ।