५० पैसामा पाइने पानको पात ३२ रुपैयाँमा !

नरैनापुर गाउँपालिका २ का वडाध्यक्ष मसूद अहमद शाह ३२ रुपैयाँमा किनेको पानको पात देखाउँदै । फोटो : शंकरप्रसाद खनाल

शंकरप्रसाद खनाल । नेपालगन्ज
नरैनापुर गाउँपालिका–२ का वडाध्यक्ष मसूद अहमद शाहले केही दिन अघि एउटा पानको पातलाई २० भारु (नेपाली ३२ रुपैयाँ)मा किने । एक जना भारतीय नागरिकलाई निकै हारगुहार गरेपछि दशगजासम्म ल्याइदियो । १० वटा पानको पातलाई तीन सय २० रुपैया तिर्नु पर्‍यो।लकडाउनभन्दा अघि उनले त्यत्ति पैैसाले त आठ सय वटा पानको पात किन्ने गर्थे । अर्थात एउटा पातलाई मुस्किलले ४० देखि ५० पैसा मात्र पथ्र्यो । ‘८० रुपैयाँमा त एक ढोली (दुई सय वटा पानको पात) आउँथ्यो’, उनले अनुभव सुनाए, ‘बहुत मुस्किलले यो पान पाएको हुँ । पाउने बित्तिकै पानलाई साबुन पानीले धोएर खाइरहेको छु ।’
पानका पारखी उनीसँग पान मसला, चुनलगायतको सामानहरु सानो झोला सधैं साथैमा हुन्छ । लकडाउनपछि उनको पानपातको खान्की घटेको छ । पहिले पानको सिँगो पात चबाउँथे भने अहिले आधा टुक्रा मात्रै । उनी लकडाउनको बेला पान ‘बहुमूल्य’ बस्तु जस्तो भएको बताउँछन् ।
उनको जस्तै नियति नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले पनि भोग्नु प¥यो । नरैनापुर–४ को एक कार्यक्रममा सहभागी हुन गएको बेला पान चबाइरहेका शाहलाई एक जना पत्रकारले जिस्केर ‘पानको यस्तो अभाव भएको थाहा पाएको भए त नेपालगन्जबाटै ल्याइदिन्थे’ भनेपछि शाहले मसक्क मस्केर भनेका थिए, ‘यस्तो बेलामा पाएको पानभन्दा ठूलो कोसेली के हुन्छ ?’
नरैनापुर मात्र होइन, कोरोना भाइरस (कोभिड १९) का कारण सीमा नाका बन्द भएपछि बाँकेमा पानको पात हाहाकार भएको छ । भारतको कलकत्ताबाट बहराइचहुँदै सीमावर्ती बजार रुपैडिहामा पानको पात सहजै किन्न पाइन्थ्यो । अहिले पातको पात निकै महंंगो भएको बताउँछन्, नेपालगन्ज उपमहानगरपालिका १७ नन्दइ गाउँमा पान पसल थापेर बसेका ५० वर्षका भगिरथ भुजुवा । उनी लकडाउन अघि रुपैडिहाबाट पानको सानो पात एक ढोली (दुई सय वटा पात) एक सय रुपैयामा र ठूलो पात दुई सय रुपैयाँ ढोली किन्ने गरेको बताउँछन् । एउटा पात पानलाई ५० पैंसादेखि बढीमा एक रुपैयाँ मात्र पथ्र्यो । पाँच रुपैयाँमा पान (एक बिंडा) खान पाइन्थ्यो । ‘अहिले चार÷पाँच हजार रुपैँयामा एक ढोली पान पाइन्छ । पाँच रुपैयाँमा पाइने पानको मूल्य बढेर १५ पुगेको छ ।’ नेपालगन्ज १७ परसपुरका अर्का पान पसले अकवाल बेहना पनि पानको पात र पान मसला अभाव भएको बताउँछन् । उनले पानको मूल्य दोब्बर भएको बताए ।
बाँकेमा मुस्लिम, मधेसी र पहाडी सबै समुदायमा पानका पारखी छन् । अरु समुदायले पान पसलबाट किनेर खान्छन् । मुस्लिम समुदायले घरमै बनाएर खान्छन् । जिल्लामा झन्डै १९ प्रतिशत अर्थात ९३ हजार दुई सय ६३ मुस्लिम छन् । मुस्लिम समुदायको महान चाड रमजानकै बेला पानको पात महंगिएकाले उनीहरु मारमा परेका छन् । स्रोत : अन्नपूर्ण पोस्ट्बाट