भौतिक दुरी कायम गरी योग दिवस

 

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा छैठौं अन्तराष्ट्रिय योग दिवस आइतबार मनाइएको छ ।
पतञ्जली योग नगर समिती टीकापुरको आयोजनामा टीकापुरको व्लक नं. ३३ समितिपुर स्थित योग साधना केन्द्रसहितका टीकापुरका अन्य योग साधना केन्द्रहरुमा समेत योग दिवसको कार्यक्रम आयोजना गरिएको पतञ्जली योग नगर समिति टीकापुरका सन्चार प्रभारी प्रेम भट्टाईले जानकारी दिए ।
कोरोना भाइरस महामारीका कारण वृहत रुपमा योग दिवसको कार्यक्रम आयोजना गर्न नसकिएपनि विभिन्न योग केन्द्रहरुमा थोरै थोरै मानिसहरु जम्मा भएर भौतिक दुरी कायम गर्दै योग साधनासहित छैठौं अन्तराष्ट्रिय योग दिवसका कार्यक्रमहरु सम्पन्न गरिएको हो । नगर समितिका अध्यक्ष वासुदेव बजगाईको अध्यक्षतामा टीकापुर १ स्थित पतञ्जली योग साधना केन्द्रमा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्यको सहभागिता रहेको थियो ।
पतञ्जली योग समिति कैलाली जिल्लाका पूर्वमहामन्त्री सर्वानन्द चपाई, छविलाल जैसी, पतञ्जली योग समिति सुदूरपश्चिम सदस्य तारा खरेल, होटेल व्यावसायी महासंघका महासचिव वीरमञ्जन बटाला, पतञ्जली योग नगर समिती टीकापुरका पूर्वअध्यक्ष मुक्तिनाथ रेग्मी, पतञ्जली योग समिती कैलाली जिल्ला सहित्य प्रभारी कान्तिप्रसाद ज्ञवालीलगायतले योगको महत्वबारे चर्चा गरेका थिए ।
कार्यक्रममा अन्तराष्ट्रिय योग दिवसको प्रोटोकल अनुसार योग प्रशिक्षक छविलाल जैसीले योग अभ्यास गराएका थिए । विश्व योग दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाइन्छ । सन् २०१४ बाट मनाउन शुरु गरिएको यस योग दिवसको शुरुवाती सुत्रधार व्यक्तित्वहरुमा सद्गुरु श्री श्री रविशंकर र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिइन्छ । योग दिवसको यो सुत्र संयूक्त राष्ट्रसंघ स्वयंले स्थापना गरेको हो भने योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थ्य बिना विकास र समृद्धि सम्भव नभएको विश्व समूदायले बुझिसकेको कुरो हो । योग सूत्रको श्रेय आदियोगी भगवान् शिवलाई मानिन्छ । शिवबाट शुरुवात भएका योगविधाहरु क्रमशः सप्तऋृषिहरुमार्फत् पुस्तौं पुस्ता यात्रा गरेर हामी माझ आइपुगेको हो । वास्तुकला अध्ययन अनुसार आदिनाथ भगवान शिवले ध्यान मुद्रामा रहेको मूर्ति सबैभन्दा प्राचीन मानिएको छ । महावीर जैनको समेत ध्यान गर्दै गरेको मूर्ति छ । योगको अर्को आधार भगवान् बुद्धको ध्यान मूर्ति पनि हो, यो मुर्ति विश्वप्रसिद्ध मानिन्छ । अर्को कथन अनुसार योगशास्त्रको श्रेय भगवान् श्रीकृष्णलाई दिइएको पाइन्छ, भगवान श्रीकृष्णका अनेक नामहरूमध्ये योगेश्वर नामले समेत उनलाई पूजा गर्ने गरिन्छ । यूनेस्कोले समेत योगलाई आफ्नो अभौतिक सांस्कृतिक सम्पदाको रुपमा सन् २०१६ बाट दर्ता गरेको छ ।