कोरोनाबाट ७४ प्रतिशत पत्रकार आर्थिक संकटमा

अमन अन्सारीनेपालगन्ज

कोरोना भाइरस (कोभिड–१९) बाट नेपालका पत्रकारहरु आर्थिक र मानसिक स्वास्थ्य समस्यामा परेको एक राष्ट्रिय सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।
नेपाल प्रेस इन्स्टिच्युट (एनपीआइ) र संयुक्त अधिराज्यस्थित बर्नमोथ विश्वविद्यालयले संयुक्त रुपमा गरेको सर्वेक्षणमा कोरोनाबाट ८५ प्रतिशत पत्रकारमा जोखिम महसुस अनुभूति भएको, ७५ प्रतिशतले चिन्ता बढेको र ६२ प्रतिशत पत्रकारले आफू दुःखमा परेको बताएका छन्् । ७४ प्रतिशत पत्रकार आर्थिक रुपमा प्रभावित भएको र तीमध्ये ३८ प्रतिशतले आफ्नो पारिश्रमिक कटौती भएको प्रतिक्रिया दिएको प्रतिवेदनमा उल्लेख छ ।
कोरोना भाइरसका कारण पत्रकारहरुलाई मनोवैज्ञानिक र आर्थिक रुपमा गम्भीर असर पारेको र सञ्चार माध्यमका सामग्रीको उत्पादनसमेत घटेको देखाएको छ । २६ असारदेखि ९ साउनसम्म गरिएको अनलाइन सर्वेक्षणमा देशका ७ वटै प्रदेशका विभिन्न मिडियामा कार्यरत एक हजार एक सय ३४ जना क्रियाशील पत्रकार सहभागी थिए ।
एनपीआइले बुधबार आयोजना गरेको भर्चुअल समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले अध्ययन प्रतिवेदन सार्वजनिक गरेका हुन् । कार्यक्रममा अनुसन्धानकर्ता बर्नमोथ विश्वविद्यालयका डा. चिन्दु श्रीधरणले प्रतिवेदनमाथि प्रकाश पारेका थिए भने कान्तिपुर सिटी कलेजका प्राध्यापक रामकृष्ण रेग्मीले टिप्पणी गरेका थिए ।
नेपाल प्रेस इन्स्टिच्यूटका अध्यक्ष निलकण्ठ उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बर्नमोथ विश्वविद्यालयका प्राध्यापक आइनर थोर्सन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) का अध्यक्ष अमिका राजथला, वरिष्ठ पत्रकार मोहन भण्डारी, नेपाल प्रेस इन्स्टिच्यूटका महासचिव लक्ष्मण हुमागाईंले कोरोनाले मिडिया क्षेत्रमा परेको प्रभावका बारेमा धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण एनपीआइका कार्यकारी निर्देशक लक्ष्मण उप्रेतीले गरेका थिए । (पढ्नु्स् अध्ययन प्रतिवेदन)