वडा अध्यक्षले नै मन्दिरमा डोजर चलाएर संरचना भत्काउन लगाएपछि…

कालीथान मन्दिरमा डोजर चलाएर भत्काएको संरचना । फोटो : मेरो खुसी
कालीथान मन्दिरको भत्काउनु अघिको अवस्था

नेपालगन्ज :  नेपालगन्ज उपमहानगरपालिका–१२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीले आफ्नै वडाको बेलासपुरमा रहेको कालीथान मन्दिरमा डोजर चलाएर संरचना भत्काएका छन् ।
कालीथान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लता शर्माका अनुसार वडा अध्यक्ष सुवेदीले पूर्वजानकारी बिना नै मन्दिरको संरचनामा डोजर लगाएर मूलद्वारा, पर्खाल र होडिङ बोर्ड भत्काइएका हुन् ।‘मन्दिरको आम्दानी नभएकाले पर्खाल लगाउँदा लागेको ५७ हजार रुपैयाँ ऋण नै छ । त्यो तिर्न नपाउँदै वडा अध्यक्षले एक्कासी संरचना भत्काए’, अध्यक्ष शर्माले मेरो खुसी टेलिफोन सम्पर्कमा भनिन्, ‘उपमहानगरले जुन ठाउँमा भत्काउने भनेर चिन्ह लगाएको छ । त्यहाँ भत्काइएको छैन । न चिन्ह लगाइएको छ, न सूचना नै दिइएको छ । हिन्दु आस्थाको केन्द्रमा डोजर चलाउनु अत्यन्तै गलत काम हो ।’
मन्दिर व्यवस्थापन समितिको सोमबार बसेको बैठकले पनि प्राचीन तथा ऐतिहासिक कालीथान मन्दिरको संरक्षण सम्बद्र्धन, पुनर्निर्माण र विकास गरी सौन्दर्यीकरण गर्ने प्रयासका क्रममा बनाइएको संरचना भत्काउनुलाई निन्दनीय कार्य भन्दै भत्सना गरेको छ ।

वडा अध्यक्ष सुवेदीको निर्देशन र अगुवामा डोजर लगाएर भत्काउनु पहिले समितिसँग कुनै पनि सम्पर्क र समन्वय नगरेको कुरा निर्णयमा उल्लेख गरिएको छ ।
स्थानीय कृष्णराज पन्त त मन्दिर जस्तो धार्मिक आस्थाको क्षेत्रमा डोजर नै लगाएर संरचना भत्काउनुलाई ठूलो पाप गरेको बताउँछन् । उनी भन्छन्, ‘मन्दिरमा सेवा भावले एउटा इँटा थप्नुपर्छ । मन्दिरको संरचना नै भत्काउने कुरा सोच्नै नसक्ने कुरा हो ।’
मन्दिरको सौन्दर्यताका लागि सहयोग गर्ने छिमेकी संचिता राजभण्डारीको पर्खाल पनि वडा अध्यक्ष सुवेदीले भत्काएका छन् । ‘हामीलाई कुनै जानकारी दिइएको छैन । एक्कासी डोजर ल्याएर आए र भत्काए’, राजभण्डारीले प्रश्न गरिन्, ‘हाम्रो र मन्दिरको संरचना भत्काउने वडा अध्यक्षले लस्करै सबैको समान रुपमा किन भत्काएन ?’ उनको र मन्दिरको ढोका नालीभन्दा पर आफ्नै जग्गामा बनाइएको थियो । वडा अध्यक्ष सुवेदी संरचना भत्काए पनि नाली भने जस्ताको तस्तै रहने बताउँछन् । ‘मापदण्ड विपरित संरचना बनाएकाले भत्काइएको हो’, उनले भने, ‘नाली अहिले जुन ठाउँमा छ । त्यही हुन्छ ।’ मन्दिर संरचना भत्काए पनि वडाको बजेटबाटै बनाउने उनले बताए । बजेटका विषयमा भने उनले बताउन चाहेनन् ।