किन रोकिएको छैन बालविवाह ?

खजुरामा बालविवाह अझैं पनि एक जल्दोबल्दो समस्याको रुपमा रहेको मैले देखें र अनुभव गरें

चेतना क्षेत्री
खजुरा–३ कि १९ वर्षीया मीना सुनार भन्छिन्, ‘मलाई पढ्ने रहर थियो । घरको आर्थिक अवस्थाले पढाउन नसक्ने भएपछि विवाह गर्नुपर्ने बाध्यता भयो ।’ खजुरा–६ ओली टोलका तिलप्रसाद ओलीले समाजमा भइरहेको अभ्यासको ब्याख्या गरे, ‘बालविवाह गर्नु हुँदैन भनेर सबैलाई जानकारी छ तर आर्थिक अवस्था कमजोर भएका कारण उनीहरुसँग अरु कुनै विकल्प छ र ?’ ‘बालविवाह गर्ने रहर होइन । हामीलाई पनि थाहा छ । सानै उमेरमा विवाह गर्दा दुःख पाइन्छ भनेर तर पनि हाम्रो बध्यता हो’, बाँकेको खजुरा गाउँपालिका–३ नरैनापुरका रहिम शेखले तर्क गरे ।
प्लान इन्टरनेशनल नेपालले गरेको मिड लाइन सर्भेमा अनुसन्धानकर्ताको रुपमा मैले भेटेका यी प्रतिनिधि पात्र मात्र हुन् । स्याकले बाँकेका ८ वटै स्थानीय तहसँगको साझेदारीमा सञ्चालन गरेको बालविवाह रोकथाम परियोजनापछि जिल्लामा बालविवाहको अवस्था पत्ता लगाउन अनुसन्धान थालिएको हो । जिल्लाका कति वडा अहिले बालविवाह मुक्त घोषणाको तयारीमा छन् । खजुरा गाउँपालिकाको सम्पूर्ण वडामा पुगेर मैले स्थानीयसँग अन्तरक्रिया गर्ने मौका पाएकी थिए । मेरो अनुभवले बालविवाह अझैं पनि एक असमान्य समस्याको रुपमा पाएँ । जस्ले वर्षौंदेखि हाम्रो समाजमा जरा गाडेर बसेको छ । खजुरामा बालविवाह अझैं पनि एक जल्दोबल्दो समस्याको रुपमा रहेको मैले देखें र अनुभव गरें । यो समस्यालाई निर्मूल पार्न किशोरी क्लब, बाल क्लब, स्थानीय तह, सामाजिक संघसंस्थाहरुले जनचेतना जगाउने विभिन्न कार्यक्रम गरेर पहल गरेका छन् । त्यो पहलका कारण बालविवाहको समस्याहरु बाहिर आइरहेका छन् । जुन सुधारको सकारात्मक पक्ष हो किनभने पहिले बालविवाहलाई समस्या होइन भन्ने मान्यता थियो । यो परम्परा र विवाह संस्कारको रुपमा मात्र लिइन्थ्यो । अहिले मनिसहरुले यो गलत हो भन्ने बुझेका छन् तर अचम्म लाग्ने कुरा, यति पहल हुँदाहुँदै पनि र जानकारी हुँदाहुँदै पनि बालविवाह रोकिएको छैन ।
बालविवाहको मुख्य कारणमा जनचेतनाको कमी र अज्ञानता आउँछ तर सर्भेको क्रममा मैले भेटेका मानिसहरुको कुरा सुन्दा पढे लेखेका र चेतना भएका मनिसहरुबाटै बालविवाह गर्ने र गराउने काम भइरहेको छ । अज्ञानाता भन्दा पनि अगाडि गरिबी अर्को मुख्य कारण रहेछ भन्ने मलाई महसुस भयो । बालविवाहलाई जरैबाट उखेलेर फल्नका लागि आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई आर्थिक रुपमा आत्मनिर्भर हुन जिवनोपयोगी सीपमूलक तालिम दिएर रोजगारीका लागि सहयोग गर्नुपर्ने खाँचो छ । आयआर्जनबाट घर, परिवार र समाजलाई समृद्धिको बाटोमा डो¥याउँछ । विपन्न परिवार आत्मनिर्भर हुन्छ । बालविवाह न्यूनिकरण गर्दै अन्त्य गर्न स्थानीय तहले लक्षित वर्गको उत्थानका लागि ध्यान दिने कि ?