बर्दियाको गेरुवामा बाघको आक्रमण, एकजना गम्भीर घाइते

घाइतेलाई उपचारका लागि एम्बुलेन्सबाट नेपालगन्ज लगिँदै । फोटो : पुस्कर काफ्ले

राजापुर : बर्दियाको गेरुवामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् ।
सोमबार बिहान ६ बजे घर नजिकैको खेतमा पानी हेर्न गएका गेरुवा गाउँपालिका १ जनकनगरका ३५ वर्षिय चुलाराम थारु बाघको आक्रमणबाट घाइते भएका हुन् । सशस्त्र प्रहरी बल वीओपी राजापुरका सशस्त्र प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद ढुंगानाका अनुसार जनकनगर सामुदायिक वनबाट आएको पाटेबाघले आक्रमण गरी थारुको टाउको र ढाडमा गम्भीर असर परेको छ । घाइतेलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ । घटनाको जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल वीओपी राजापुरका सशस्त्र प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद ढुंगानाको कमाण्डमा ७ जना र इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक नवराज केसीको कमाण्डमा ५ जना संयुक्त रुपमा खटिएर उद्दार कार्यमा संलग्न रहेका थिए ।
पछिल्लो समय बर्दियामा बाघ आक्रमणका घटना बढ्दै गएका छन् । निरन्तर रुपमा बाघ आक्रमण बढेपछि केहीदिन अघि मात्रै बर्दिया निकुन्जले गेरुवाबाट आक्रमण गर्ने बाघ नियन्त्रणमा लिएको थियो । निकुन्जले नियन्त्रणमा लिए पनि बाघले आक्रमण गर्ने क्रम भने रोकिएको छैन ।