नेपालगन्जमा डेढ लाख जनालाई हात्तीपाइलेको औषधी खुवाइँदै
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा यो वर्ष झन्डै डेढ लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ ।
नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगरले शुक्रबार बिहान हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गरी आमऔषधी सेवन कार्यक्रम शुभारम्भ गरेका हुन् ।
उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दका अनुसार शुक्रबार विभिन्न स्थानमा राखिएका बुथ केन्द्रमा औषधी सेवन गराइँदैछ । शनिबारदेखि भने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरुले घरमै पुगेर औषधी खुवाउने कार्यक्रम रहेको छ । प्रमुख चन्दका अनुसार यसपटक एक लाख ४९ हजार ९२ जनालाई औषधी खुवाउने लक्ष्य छ । औषधी सेवन अभियान चैत मसान्तसम्म सञ्चालन हुनेछ ।