भन्सार कार्यालयभित्रै मोटरसाइकलका पाटर्सपूर्जा गायब !

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका–९ मा रहेको सत्ती भन्सार कार्यालय खक्रौलामा २ वर्षको अवधिमा नियन्त्रणमा लिएका साढे २ सय मोटरसाइकल कार्यालय परिसरमा छन् । एक–एक वटा स्कारपियो, पिकअप र अटोठेला छन । भन्सार कार्यालय परिसरमा राखेका ती अधिकांश मोटरसाइकलका पाटर्सपूर्जा छैनन् ।
प्रहरीले सडकमा गुडिरहेका मोटरसाइकल चेकिङ्गका बेला पक्राउ गर्छ र भन्सारलाई बुझाउँछ । केही मोटरसाइकल त तस्करीले सामान ओसारपसारको बेला प्रहरीले नियन्त्रणमा लिन्छ । यसरी नियन्त्रणमा लिएका मोटरसाइकल प्रहरीले भन्सार कार्यालयलाई कारबाहीका लागि बुझाउनुपर्छ । बुझाएको पनि छ । तर भन्सार परिसरमै सुरक्षाघेरामा रहेका मोटरसाइकलका सामान कहाँ गायब हुछन् त ?
त्यहाँ रहेका मोटरसाइकल मध्ये कसैका पांग्रा छैनन् त कसैका ह्यान्डल नै छनन् । प्रश्न होला के पांग्रा र हेन्डल बिनाको मोटरसाइकल सडकमा गुडिरहेको थियो होला त ? भन्सारमा प्रहरीले पक्राउ गरि बुझाएका सवारीसाधन मोटरसाइकलका सामान कि त प्रहरीले गायब गरेर बुझाउँछन कि भन्सारबाट चोरी हुन्छन् एक स्थानीयले टिप्पणी गरे ।
तर भन्सार प्रमु्ख प्रमुख विमलकुमार शाहले यो कुरा स्वीकार्दैनन् । उनी जिकिर गर्छन्, ‘प्रहरीले जस्तो अवस्थामा ल्याएको हुन्छ । त्यस्तै राखिएको हो । भन्सारबाट कुनै सामान गायब भएको छैन् ।’ सरोकारवाला निकायले कमजोरी नस्वीकार्दा मोटरसाइकलका सामानहरु कहाँ र कसरी हराउँछन भन्ने आमचासोको बिषय बनेको छ ।