१९ वर्षीया सबिता बनिन्, खजुरा गाउँपालिकामा एकदिनको उपाध्यक्ष
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकामा १९ वर्षीेया किशोरी सविता गुरुङ एक दिनका लागि उपाध्यक्ष बनेकी छन् ।
अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेलगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरेको गल्र्स टेकओभर कार्यक्रम अन्तर्गत लगनशील किशोरी क्लबकी सचिव रहेकी गुरुङलाई खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले बुधबार एक दिनका लागि उपाध्यक्ष पद हस्तान्तरण गरेकी हुन् ।
गुरुङले गाउँपालिकाको न्यायीक समिति र पालिका स्तरीय बाल अधिकार समितिको संयोजकको हैसियतमा अनलाइनबाट हुने किशोरी हिंसाका विषयमा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेललाई डाकेर छलफल गरिन् । उनले साइबर क्राइमबारे गाउँपालिकाका सामुदायिक, मदरसा र नीजि विद्यालयमा साप्ताहिक रुपमा साइबर क्राइम र त्यसले पार्ने प्रभावबारे साप्ताहिक रुपमा भिडियो प्रदर्शन गर्ने, विद्यालय व्यवस्थापन समितिले मासिक रुपमा अभिभावक भेला डाकेर इन्टरनेटको प्रयोग र दुरुपयोगबारे सन्तानसँग जानकारी लिनुपर्ने २ वटा निर्णय पनि गरिन् । गाउँपालिका उपाध्यक्ष विकले सविताले किशोरीका समस्याबारे निर्धक्क रुपमा पालिकाको टिमसँग छलफल गरेको भन्दै प्रशंशा गरिन् ।
‘साइबर अपराधबाट किशोरीलाई कसरी जोगाउन सकिन्छ भन्नेबारे गाउँपालिकामा कुनै नीतिगत व्यवस्था छैन’, गाउँपालिका उपाध्यक्ष विकले भनिन्, ‘नीति र कानुन बनाएर सोसल मिडियाबाट किशोरीहरुमाथि हुने हिंसा रोक्न हामीले कदम चाल्नेछौं ।’ बुधबार नै जानकी गाउँपालिकामा क्रिस्टिना विश्वकर्मा र मंगलबार बैजनाथ गाउँपालिकामा अनु रावतले गाउँपालिकाको एक दिनका लागि महिला विकास शाखा प्रमुखको भूमिका निर्वाह गरेका थिए ।










