कांग्रेस एक्लै निर्वाचनमा जाने पपुलर कुरा नगरौं : सह-महामन्त्री राठोर

नेपालगन्ज : नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौंरले सत्ता गठबन्धन बिना कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने पपुलर कुरा नगर्न नेता कार्यकर्तासँग आग्रह गरेका छन् ।
कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ कार्य समितिले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता राठोरले गठबन्धनकै आधारमा कांग्रेस सत्तामा पुगेर र राष्ट्रिय सभाको निर्वाचनमा पनि गठबन्धनकै आधारमा नतिजा हासिल गरेको कुरा नबिर्सन आग्रह गरे । ‘आसन्न निर्वाचनमा पार्टी एक्लै जाने कि मिलेर जाने भन्ने कुरा चलिरहेको छ । गठबन्धन नगर्ने भनेर चर्को कुरा गरेर मात्र केही हुँदैन’, उनले भने, ‘गठबन्धनले गर्दाखेरी कांग्रेसभित्र दुःख पाएका नेता युवराज शर्मा राष्ट्रिय सभाको माननीय हुनु भएको छ । यो उपलब्धी हो कि होइन ? अहिले गठबन्धन नभएको भए युवराज शर्मा राष्ट्रिय सभा सदस्य बन्नसक्नु हुन्थ्यो ? त्यसैले चर्का र पपुलर कुरा गर्न सबैलाई आउँछ । सत्य कुरा गर्नलाई मुटु चाहिन्छ मुटु ।’
कांग्रेसले एक्लै जित्न सक्ने अवस्था सिर्जना गर्न सकेमा गठबन्धनको आवश्यकता नपर्ने नेता राठौंरले बताए । उनले पार्टीभित्रको आन्तरिक संघर्ष समाप्त भएको जिकिर गर्दै पार्टीको अधिवेशन सकिएकाले अब पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने बताए ।‘तीनै तहको निर्वाचन एकै चोटी गर्ने कि भन्ने कुराहरु पनि उठिरहेको छ । वैशाखमा गर्ने कि भन्ने कुरा भइरहेको छ, यस विषयमा केन्द्रिय समितिले कुनै टुंगो लगाएको छैन,’ उनको भनाइ थियो, ‘छिट्टै केन्द्रिय समितिको बैठक बस्छ, केन्द्रिय समितिको बैठकमा छलफल हुन्छ, विचार र दृष्टिकोणहरु आउँछन् ।’
कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडा सभापति प्रदीप श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, राष्ट्रिय सभा सदस्य युवराज शर्मा, कांग्रेस बाँकेका सभापति किरण कोइराला, पूर्वसभापति एवम पूर्वमन्त्री गजेन्द्र हमाल, जिल्ला उपसभापति सुनिलनरसिंह राणा, क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, प्रदेश सभा २ ‘ख’ का सभापति जितेन्द्र हमाल, पूर्व क्षेत्रीय सभापति सुरेन्द्रनाथ सापकोटा, नेपालगन्ज उपमहानगर सभापति प्रशान्त विष्ट लगायतको सहभागिता रहेको थियो ।