कमैया महिलाद्वारा बर्दियाका शितलहर प्रभावितलाई सहयोग

गुलरिया : कमैया महिला जागरण समाज नेपालले बर्दियाका शितलहर प्रभावितलाई सहयोग गरेको छ ।

संस्थाले गेरुवा गाउँपालिका वडा नं. ५ मा नगद भौचर मार्फत खाद्य तथा गैर खाद्य सामग्री वितरण गरेको हो । जिल्ला विपद व्यवस्थापन समिति र गेरुवा गाउँपालिकाको समन्वयमा आइतवार खाद्य सामग्री भौचर र गैर खाद्य तथा पोषण सम्बन्धी भौचर बुधवार वितरण गरिएको संयोजक जीतराम चौधरीले बताए ।
सम्बन्धित वडाका प्रतिनिधी, गाउँबडघर तथा समुदायका स्वयम्सेवक परिचालन गरी लक्षित घरधुरी छनौट गरेर ५ हजार २ सय रुपैया बराबर खाद्य सामग्री, ८ हजार ३ सय रुपैया बराबरको न्यानो कपडा खरीद गर्न सक्ने गरी १ सय ५० विपन्न परिवार र ३ हजार रुपैया बराबरको पोषणयुक्त खानेकुरा लिन सक्ने गरी ५० परिवारका गर्भवती तथा स्तनपान गराउने महिलालाई लक्षित गरिएको संयोजक चौधरीको भनाई छ । खाद्यन्न वापत चामल, दाल, नुन, तेल, गेडागुडी, चिनी आदि बस्तु र गैर खाद्य सामग्री अन्तर्गत न्यानो कपडा खरीद गर्न सकिने गरी भौचर तयार गरी वितरण गरिएको छ । भौचरमा उल्लेख गरिएको सामग्री सम्बन्धित पसलबाट भौचर मार्फत खरीद गर्नसक्ने व्यवस्था मिलाईएको छ ।
पछिल्लो समय पुस ३० गतेदेखि बर्दियामा कहिलेकाहीं घाम लागे पनि अधिकांश दिनहरुमा कुहिरो लाग्ने र शितलहर चल्ने गरेको छ । जस्काकारण विपन्न परिवारका ज्येष्ठ नागरिक, गर्भवति तथा स्तनपान गराउने महिला, बालबालिका, अपांगता भएका व्यक्ति बढी प्रभावित हुनसक्ने भएकोले त्यसबाट बचाउनका सहयोग वितरण गरिएको हो ।
स्टार्टफन्डको सहयोगमा केएर नेपाल, एक्सन–एड नेपाल, मर्सिकोर र कमैया महिला जागरण समाज नेपालको संयुक्त साझेदारीमा भौचर मार्फत खाद्य तथा गैर खाद्य सामग्री वितरण गरिएको बताईएको छ ।