डुडुवाको सामुदायिक भवन बन्यो, भैंसी गोठ

रमेशकुमार यादव । बल्दीपूर्वा
बाँकेको डुडुवा गाउँपालिका-६ बल्दीपूर्वामा निर्माणाधीन सामुदायिक भवन भैंसी गोठमा परिणत भएको छ ।
सामुदायिक भवनको एक वर्ष अघि छत ढलान त भयो तर रंगरोगन र झ्याल ढोकाहरु नराख्दा भवनमा स्थानीयले भैंसी बाँध्ने गरेका हुन् । भवनभित्र भैंसीको गोबरले र परार राखेर फोहर पारिएको छ । डुडुवा गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ को बजेटबाट पाँच लाख रुपैयाँको लागतमा भवन निर्माण गरेको थियो । भवन अपूरै भयो । अहिले निर्माण पूरा नहुँदै भवन जीर्ण भइसकेको छ ।

डुडुवा-६ का वडा अध्यक्ष मोहन मिश्र सो स्थानमा सामुदायिक भवन कसले माग अनुसार निर्माण गरेको आफूलाई थाहा नभएको बताए । भवन बनाउँदा पनि वडासँग कुनै पनि वास्ता नगरेको उनले गुनासो गरे । बेवास्ता गरेर निर्माण गरेकाले पनि वडाले कस्तो गुणस्तरमा बनेको छ ? किन अलपत्र परेको हो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको वडाध्यक्ष मिश्र बताउँछन् । भवनलाई पूर्णता दिन गाउँपालिकाले चालु आर्थिक वर्षमा १५ लाख थप बजेट विनियोजन गरेको बुझिएको छ ।