पूर्वरानी कोमलको ७१औं जन्मदिनमा छोरी प्रेरणाद्वारा नेपालगन्जका ६०० विद्यार्थीलाई सहयोग

नेपालगन्ज : पूर्वरानी कोमल शाहको ७१औं जन्मोत्सवमा छोरी पूर्वअधिराजकुमारी प्रेरणा राज्य लक्ष्मी सिंहले नेपालगन्जमा सामुदायिक विद्यालयका विद्यार्थीलाई सहयोग गरेकी छन् ।
पूर्वयुवराज्ञी हिमानी शाहको नाममा स्थापना गरिएको हिमानी कोषले शनिबार नेपालगन्ज उपमहानगरपालिका कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा पूर्वअधिराजकुमारी प्रेरणा र पूर्वशाहज्यादी दिलाशा राज्य लक्ष्मी राणाले आफै पानी स्वच्छ हुने बोतल र मास्क वितरण गरेका हुन् ।

कोषमा पूर्वरानी कोमल संरक्षक, पूर्वअधिराजकुमारी प्रेरणा उपाध्यक्ष र पूर्वशाहज्यादी दिलाशा कार्यकारी सदस्य छन् । कोषका कानुनी सल्लाहकार अनिता केसीका अनुसार बालबालिकालाई स्वच्छ पिउने पानीको पहुँच पुगोस् भन्ने अभिप्रायःले नेपालगन्जको हनुमान प्राविका २०९, नेपाल राष्ट्रिय आधारभूत विद्यालयका १७० र पाटेश्वरी आधारभूत विद्यालयका २२१ गरी ६०० विद्यार्थीलाई आफै पानी स्वच्छ हुने बोतल र मास्क वितरण गरिएको हो ।

कोषका कार्यालय प्रमुख उत्तम निरौलाले स्वच्छ पिउने पानीको अभावमा बालबालिकालाई धेरै किसिमका रोगहरु लाग्ने भएकाले आफै पानी स्वच्छ हुने बोतल सहयोग गरेको बताए । यो बोतलले एक वर्षको अवधिमा एक हजार लिटर पानी आफै निमूलीकरण गर्छ । नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर राणाले हिमानी कोषले यसअघि सिलाइ कटाइ तालिम लिएका महिलालाई उद्यम सञ्चालन गर्न सिलाउने मेसिन सहयोग गरेको थियो ।

नगर प्रमुख डा.धवल शम्शेर राणाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमहानगरपालिका कार्यपालिका सदस्य इन्दिरा शाहीले स्वागत गरेकी थिइन् । हिमानी कोषले यसअघि नेपालगन्जवासीलाई कोरोनाको निःशुल्क खोप लगाउन अनुमति माग गरेको थियो । उपमहानगरले सो प्रस्ताव स्वीकृत पनि गरेको थियो । नेपाल सरकारले नै निःशुल्क खोप लगाउन थालेपछि खोप कार्यक्रम स्थगित भएको कोषकी कानुनी सल्लाहकार अनिता केसीले बताइन् ।