छोराछोरी पढ्दैनन्, मोटिभेसनल स्पिकर प्रितम पौडेलको पढाइ सुधार गर्ने यस्तो छ सुत्र

नेपालगन्ज : तपाईका छोराछोरी पढ्न मान्दैनन् । खेल्न मात्र चाहन्छन् । अनि तपाई पनि सधै पढिरहोस् भन्ने चाहनुहुन्छ । पढ् मात्र भन्नुहुन्छ । नपढ्दा गाली मात्र गर्नुुहुन्छ । हर गल्तीमा कुट्नु हुन्छ भने सावधान ! तपाईका यी गल्तीले सन्तानको शिक्षामा सुधार ल्याउने होइन कि झन बिगार्ने बताउँछन्, मोटिभेसनल स्पिकर प्रितम पौडेल ।
बाँकेको स्प्रिङ डेल एकेडेमीले बिहीबार नेपालगन्जको फोर स्टार होटल स्टारलाइटमा आयोजना गरेको अभिभावकलाई शिक्षा कार्यक्रममा मोटिभेसनल स्पिकर पौडेलले अभिभावकसँग सन्तानलाई नपढेको भन्दै सधैं कुट्ने र गाली गर्दा जतिसुकै राम्रो विद्यालय र शिक्षकले पढाउँदा पनि नतिजा राम्रो नआउने गरेको अनुभव सुनाए । ‘मेरो तालिममा आएका कति विद्यार्थीले अभिभावकले दिने यातना, गाली र आदेशका कारण घरै जान मन नलाग्ने बताएका थिए । खाली पेटमा पनि गाली खानुपर्छ । खानामा पनि प्रसस्तै गाली नै खानुपर्छ । अरु कतै जाने ठाउँ भए उनीहरुले घर छोडिसक्थे’, देशका धेरै जिल्लामा विद्यार्थी, शिक्षक र अभिभावकका लागि मोटिभेसनल कार्यक्रमको अनुभव सँगालेका पौडेलले अभिभावकको मन छुने गरी चाबी हराएको कथा सुनाउँदै भने, ‘तपाई घरभित्र सिर्जनशीलता हराएकोे बच्चाबाट राम्रो विद्यालयमा पढाएर मात्र राम्रो नम्बरको अपेक्षा नगर्नुहोला । घरकै वातावरणले विद्यार्थीकोे भविष्य निर्धारण हुन्छ ।’
उनले पढ्ने घरयासी वातावरणका लागि अभिभावक आफूले पनि पढ्नुपर्ने र सन्तानले पढेको लेखेको हेर्नुपर्ने सुझाव दिएका थिए । ‘तपाई आफ्नो सन्तानलाई आदेश दिने होइन, हौसला दिनुस् । नकारात्मक कुुरा मात्र कोट्याउने होइन । राम्रो कुराको तारिफ गर्नुस् । विस्तारै विद्यार्थीको शिक्षामा सुधार आउँछ’, उनले अभिभावकलाई आग्रह गरे, ‘तपाई जन्मदिने बाआमा हो । खत्तम छस् नभन्नुस् । तपाईले गरेको गाली पनि लाग्नसक्छ । सन्तानको प्रशंशा गर्नुस् । गल्ती गरेपछि सम्झाउनुस् । सन्तान हरेक साना साना कुरामा खुसी हुन्छन्, रमाउँछन् । उनीहरुका लागि पनि समय निकाल्नुस् ।’
कार्यक्रममा मोटिभेसनल स्पिकर पौड्यालले विद्यार्थीको शिक्षा सुधार्न विद्यालय, शिक्षकसँगै अभिभावकको पनि उत्तिकै भूमिका भएको बताएका थिए । उनले भने, ‘हामीले विद्यार्थीको भविष्यका लागि विद्यालय त पठाउँछौं । शैक्षिक ज्ञानले मात्र पुग्दैन । अभिभावकले नैतिक र संस्कार नदिने हो भने त्यो ज्ञानको पनि दुरुपयोग हुनसक्छ ।’ उनले राम्रो शिक्षा दिन शिक्षक पनि अपडेट हुुन पढ्नुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा अभिभावकहरुले आफूले सन्तानमाथि गरेका गल्तीबारे पश्चताप गर्दै उनीहरुको शिक्षामा सुधारका लागि समय व्यवस्थापन गर्ने प्र्रतिबद्धता जनाएका थिए । तालिममा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका २०० जना अभिभावकको सहभागिता रहेको थियो । स्प्रिङ डेलका प्राचार्य शरद्चन्द्र रावलले पाठ्यपुस्तकमा भएको ज्ञानसँगै विद्यार्थी र अभिभावकका लागि मोटिभेसनल कार्यक्रमहरु आयोजना गरेर प्रोत्साहन गरिरहेको बताए । उनले यसअघि पनि अभिभावक र विद्यार्थीलाई अनलाइन र प्रत्यक्ष सहभागितामा कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । केही दिनभित्रै विद्यार्थीका लागि हेन्डराइटिङ सम्बन्धी तालिम आयोजना गरिने बताए ।