नेपालगन्जमै दूरविन प्रविधिबाट पित्त थैलीको सफल अपरेशन

नेपालगन्ज : कान्ति आरोग्य अस्पतालले नेपालगन्जमै पहिलो पटक दूरविन प्रविधिबाट पित्त थैलीको सफल शल्यक्रिया गरेको छ । नेपालगन्जका अन्य अस्पतालमा पित्त थैलीको शल्यक्रिया दूरविन प्रविधिबाट हुँदैन । विगतमा यो प्रविधिबाट शल्यक्रिया गर्न कोहलपुर र लखनउ जानु पथ्र्यो ।
नेपालगन्जको सुर्खेतरोडमा रहेको कान्ति आरोग्य अस्पतालले शनिबार लम्कीचुहा नगरपालिका कैलालीका पार्वती सुनार र जानकी गाउँपालिका–५ बाँकेका राधिका यादवको सफल शल्यक्रिया गरेको जनरल सर्जन डा. विजय उपाध्यायले बताए । डा. उपाध्यायले भने ‘दूरविन प्रविधिबाट अप्रेशन गर्दा बिरामीले लामो समय अस्पतालमा बस्न नपर्ने, घाउ पाक्ने डर नहुने र अप्रेशन पनि सस्तो पर्छ ।’ उनले यो प्रविधिबाट एपेन्डिक्सको शल्यक्रिया पनि गरिने बताए ।
२५ वैशाख ०७५ मा १५ शैयाको अस्पतालको अनुमति पाएको कान्ति आरोग्य अस्पतालले बालरोग, जनरल फिजिसियन, जनरल सर्जरी, हाडजोेर्नी, स्त्रीरोग, चर्मरोग, न्यूरो र इ.एन.टी.लगायतका स्वास्थ्य सेवा प्रदान रहेको अस्पतालका सीइयो सन्दीप अग्रवालले जानकारी दिए । सीइयो अग्रवालले भने, ‘हामी पारिवारिक वातावरणमा सुलभ शुल्कमा थुप्रै गुणस्तरीय सेवा प्रवाह प्रदान गरिरहेका छौं ।’