जसको नेतृत्वमा पुग्यो बाँके-बर्दियाको दूध जुम्लामा

पिपरी (बाँके) : दुग्ध विकास संस्थान (डीडीसी) को नेपालगन्ज दुग्ध वितरण आयोजना कोहलपुरले बाँके–बर्दियाका किसानले उत्पादन गरेको दूध संकलन गथ्र्यो । अधिकांश दूध काठमाडौं र पोखरा पठाइन्थ्यो । बन्द, हड्तालले मिल्क होलिडेको समस्या हुन्थ्यो । २ वर्ष अघिसम्म स्थानीय खपत दैनिक मुस्किलले एक हजार लिटर हुन्थ्यो । ‘मेरो नेतृत्वमा दूधको व्यापार विस्तार भयो । नेपालगन्ज, कोहलपुर, दाङ, सुर्खेत हुँदै यहाँको दूध अहिले जुम्लामा पनि बिक्री भइरहेको छ । दैनिक स्थानीय खपत नै झन्डै २ हजार लिटर छ । एक दुई महिनाभित्रै थप एक हजार लिटर दूध स्थानीय बजारमा बिक्री गर्ने लक्ष्य छ’, आयोजना प्रमुख योगेन्द्र शाह भन्छन्, ‘पहिले त कहिले काँही हप्तामा दुई तीन दिनसम्म पनि मिल्क होलिडे हुन्थ्यो । लकडाउन खुलेपछि अहिले मिल्क होलिडेको समस्या पूरै हटेको छ ।’

योगेन्द्र शाह

शाहको पहलमा सुर्खेतको भेरीगंगा नगरपालिकामा चिलिङ सेन्टर स्थापना गर्न झन्डै ५ कठ्ठा जग्गा र कर्णाली प्रदेश सरकारले डीडीसीका लागि रेफ्रिजेरेटर भ्यान खरिदको प्रक्रिया अघि बढेको छ ।
कोहलपुरको पिपरीस्थित आयोजनाको कार्यालयबाट गत वर्षको चैत्रबाट जुम्लाको हिमाली डेरीले हप्तामा दुई पटक गरी झन्डै एक हजार दुई सय लिटर दुध र दही खपत भइरहेको छ । आयोजनाले अहिले पनि पोखरा, काठमाडौं र चितवनमा दूध पठाउने गरेको छ । बर्दियाका २५, बाँकेका २२, दाङका १६ र सुर्खेतका ८ वटा दुग्ध उत्पादक सहकारीबाट दूध संकलन हुने गरेको प्रमुख शाहले जानकारी दिए । आयोजनाको बर्दियाको सानोश्री र भुरिगाउँ, सुर्खेतको छिन्चु, दाङको लमही र जुम्लेकुलामा आयोजनाको २ देखि ३ हजार लिटर क्षमताको चिस्यान केन्द्र छन् । गत माघको महिनामा आयोजनाले दैनिक १० हजार ९१५ लिटर र फागुनको १५ दिनमा औसत ८ हजार ३५८ लिटर दैनिक दूध संकलन भइरहेको छ । आयोजनाले माघमा ३ लाख १६ हजार ४४४ लिटर र फागुनको १५ दिनमा १ लाख २५ हजार ३७८ लिटर दूध संकलन गरेको छ ।