रेडपाण्डाको २ थान छालासहित ४ युवा पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको २ वटा छालासहित ४ जना युवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेका अनुसार आइतबार बिहान ११ बजे नेपालगन्ज–१२ कोरियनपुरस्थिन अञ्जना होटल एण्ड लजबाट डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–३ का ३६ वर्षीय हर्कबहादुर विक, २३ वर्षीय विवेक वोहरा, २२ वर्षीय रामकृष्ण शाही र डोल्पाकै ठूलोभेरी नगरपालिका–१ का २५ वर्षी सुकराम विकलाई पक्राउ गरेको हो ।
रेडपाण्डाको छालाको खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले होटलमा तलासी गर्ने क्रममा कोठा नं. ।१०५ को खाट मुनी प्लाष्टिक बोराभित्र रेडपाण्डाको २ थान छाला बरामद गरेको डीएसपी न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी दिए । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कसुर ठहर भएमा ५ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको छ ।