सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन बुधबार नेपालगन्जमा

नेपालगन्ज : सामुदायिक रेडियोे राष्ट्रिय सम्मेलन बुधबारदेखि नेपालगन्जमा हुने भएको छ ।
सामुदायिक रेडियो प्रसारक संघ अकोराबले १६औं वार्षिक साधारणसभा र सामुदायिक रेडियोे राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको संघले मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । संघका अध्यक्ष अर्जुन गिरीका अनुसार कार्यक्रमको उद्घाटन कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले गर्नेछन् । त्यस लगत्तै बालविवाह, स्थानीय सरकार र रेडियो, सामुदायिक रेडियोका अनुकरणीय अभ्यास, सामुदायिक रेडियो अवसर, चुनौती र अबको बाटो, सामुदायिक रेडियो र महिला, भाषाभाषी कला संस्कृति संरक्षणमा रेडियोको भूमिका, आदिवासी जनजाति, दलित, मधेसी तथा सिमान्तकृत वर्गका लागि रेडियो विषयमा सरोकारवालाबीच अन्तरसंवाद कार्यक्रम हुने अध्यक्ष गिरीले जानकारी दिए । सो अवसरमा संघका पूर्वअध्यक्ष मीनबहादुर शाही र मोहन चापागाईँ, रेडियो अभियन्ता दधिराम सुवेदी, बडघर पतिराम थारु र कलाकार श्यामानन्द सिंहलाई सम्मान गर्ने कार्यक्रम छ ।