एक आपसमा जुधेर पाटेबाघ मरेको आशंका

गुलरिया : बर्दियाको खाता जैविक मार्गमा पर्ने मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा सोमबार बेलुका मृत अवस्थामा फेला परेको पाटे बाघ एक आपसमा जुधेर मृत्यु भएको आशंका गरिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा.रविन कडरियाले बाघहरु एक आपसमा जुधेर मृत्यु भएको हुनसक्ने बताए । उनले भने, ‘अहिले सर्सती हेर्दा प्राकृतिक रुपमा बाघ मरेको जस्तो देखिन्छ । भाले बाघको आक्रमणबाट मरेको आशंका गरिन्छ । नौ दश दिन अघि नै मरेकाले मृत बाघ भाले वा पोथी के हो छुट्टाउन पनि कठिन छ ।’ बाघको छाला कुहिएको फेला परेको थियो । एक वर्षयता बाघको बासस्थान रहेको खाता जैविक मार्गमा सात जना मान्छेको ज्यान बाघले लिइसकेको छ ।