कांग्रेसद्वारा नेपालगन्जमा ५ वर्षका लागि ५ संकल्प

नेपालगन्ज : नेपाली कांग्रेसले नेपालगन्ज उपमहानगरपालिकामा ५ वटा चुनावी संकल्प–पत्र सार्वजनिक गरेको छ ।
गठबन्धनका दलको समेत उपस्थितिमा कांग्रेसले बुधबार नेपालगन्जमा ५ वर्षमा ५ संकल्प प्रस्ताव सार्वजनिक गरेको हो । नेपालगन्ंजलाई हरित शहर बनाउने, सदभावको शहरका रुपमा चिनाउने, रिंगरोडसहित सडक सञ्जाल जोड्ने, स–ुशासन सहितको सेवा प्रदान गर्ने र सामाजिक न्यायसहितको रुपान्तरणका लागि काम गर्ने भन्दै ५ संकल्प समेटेको छ । संकल्प प्रस्तावमा गठबन्धनका दल कांग्रेस, जसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाका नेताले ऐक्यबद्धता जनाएका थिए भने कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार प्रशान्त विष्ट र जसपाबाट उप–प्रमुखका उम्मेदवार कमरुद्दिन राईले संकल्प प्रस्ताव अनुसार काम गर्ने बाचा गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठोरले गठबन्धनका नेतालाई जिताउन गठबन्धनका नेता कार्यकर्तासँग आग्रह गरेका थिए ।
यसैबीच कांग्रेस बाँकेले पनि बुधबार नै स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गरेको थियो । त्यसैगरी नेपाली कांग्रेस बाँकेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणा–पत्रमा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार, सञ्चार, रोजगार, कर प्रणाली, खानेपानी तथा सरसफाई जस्ता विषयमा काम गर्ने उल्लेख छ । यस्तै स्थानीय कला, सँस्कृति, धर्म, गरिवी निवारण, सामाजिक सुरक्षा र युवा तथा खेलकुद जस्ता बिषयहरुमा बिषयगत रुपमा काम गर्ने योजना सार्वजनिक गरिएको छ ।