खजुरा र डुडुवाका अध्यक्षको सपथ ग्रहण, नेपालगन्जका जनप्रतिनिधिलाई प्रमाण पत्र वितरण

नेपालगन्ज : स्थानीय तह निर्वाचन ०७९ का निर्वाचित र नेपालगन्जका निर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र वितरण गरिएको छ ।
शुक्रबार छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको कार्यक्रममा जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश खडानन्द तिवारीले खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक तुफान र डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीको सपथ ग्रहण गराएका हुन् । नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, २३ वडाध्यक्ष र वडा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् ।
कार्यक्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नगर प्रमुख विष्टले नगरवासीलाई सेवा सुविधा सहज बनाउँने बताए । उनले भने, ‘हामी शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिनेछौं । उपमहानगरपालिका बनेपछि जोडिएका साबिकका गाविसका वडामा पनि बाटोघाटो बनाउनेदेखि समान विकास हाम्रो प्राथमिकता हुनेछ ।’
उप–प्रमुख कमरुद्दिन राईले नेपालगन्जको यथावत् समस्यालाई ६ महिनाभित्रै नेपालगन्जको समस्यालाई सम्बोधन गरेर जनतालाई अनुभूति दिलाउने प्रतिबद्धता जनाए । उनले भने, ‘ वर्षात आउँदैछ । यहाँ ढल निकासको समस्या छ । सपथ ग्रहण गरे लगत्तै हामीले ढल निकास र नाली सफा गराउने छौं ।’ नेपालगन्जका जनप्रतिनिधिको सपथ ग्रहण र पदभार ग्रहण गर्ने कार्यक्रम भने आइतबार गर्ने प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले बताए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले जिल्ला न्यायाशीधले पालिका प्रमुखलाई सपथ ग्रहण गराउने र गाउँपालिका प्रमुखले उप प्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई निर्वाचित भएको सात दिनभित्र सपथ गराउने व्यवस्था छ ।