स्थानीय तह निर्वाचन ०७९ : बाँकेमा सात स्थानीय तहको नजिता आउँदा एमाले नेतृत्वमा शून्य

नेपालगन्ज : स्थानीय तह निर्वाचन ०७४ मा बाँकेमा पहिलो पार्टी बनेको नेकपा एमाले पाँच वर्षपछि जिल्लामा ७ स्थानीय तहको अन्तिम परिणाम आउँदा नेतृत्वमा शून्य भएको छ ।
अघिल्लो निर्वाचनमा कोहलपुर नगरपालिकामा नगर प्रमुख लुटबहादुर रावत, खजुरा गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपछि र उपाध्यक्ष एकमाया विक, बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल र उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माका साथै जानकी गाउँपालिका अध्यक्षमा रामनिवास यादव र उपाध्यक्ष भूमिसरा धिताल एमालेबाट निर्वाचित भएका थिए । कोहलपुरमा मतगणना जारी छ । शनिबार राति १० बजेसम्म कांग्रेसका पूर्णप्रसाद आचार्य एमालेका खिलप्रसाद भुसालसँग ६७९ मतले अगाडि छन् । आचार्यले १० हजार २५६ मत र भुसालले ९ हजार ५९७ मत ल्याएका छन् । उपप्रमुखमा पनि कांग्रेसकी संगिता सुवेदी एमालेकी अस्मिताकुमारी थारुभन्दा ९९ मतले अग्रता लिएकी छन् । सुवेदीले १० हजार ५५७ र थारुले १० हजार ५८ मत ल्याएका छन् । कोहलपुरका ७, ८, ९ र १० नं. वडाको मतगणना गर्न बाँकी नै छ । अघिल्लो निर्वाचनको नतिजा अनुसार यी ४ वडामध्ये ७ मा दीपकजंग थापा, ९ मा ठाकुरप्रसाद थारु र १० मा निमबहादुर चलाउने कांग्रेसबाट निर्वाचित भएका थिए । वडा नं. ८ मा भने एमालेका रेशमबहादुर खत्री निर्वाचित भएका थिए । खत्रीका निकटतम् प्रतिद्वन्द्वी पूर्णप्रसाद आचार्य नै अहिले कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार छन् । अघिल्लो निर्वाचनको आँकडा विश्लेषण गर्दा कोहलपुरमा पनि एमाले सम्भावना न्यून देखिन्छ ।

जिल्लाका नतिजा आएका ७ स्थानीय तहमध्ये ५ वटाको नेतृत्व कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले एक एक वटा स्थानीय तहमा नेतृत्वमा निर्वाचित भएका छन् । नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेसका प्रशान्त विष्ट र उपप्रमुखमा जसपाका कमरुद्दिन राई, खजुरा गाउँपालिकामा माओवादी केन्द्रका डम्बरबहादुर विक तुफान अध्यक्ष र उपाध्यमा कांग्रेसकी मञ्जु मल्ल निर्वाचित भएका छन् । बैजनाथ गाउँपालिकामा कांग्रेसका प्रकाशबहादुर शाही र उपाध्यक्ष पनि कांग्रेसकी निर्माला रोकाय, जानकी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा छब्बन खाँ र उपाध्यक्षमा रामप्यारी यादव, डुडुवा गाउँपालिकामा दोस्रो कार्यकालका लागि अध्यक्षमा नरेन्द्र चौधरी र उपाध्यक्षमा सहिदा बानो, राप्तीसोनारी गाउँपालिकामा तप्तबहादुर पौडेल र उपाध्यक्षमा मनिषा सिंह थारु कांग्रेसबाट निर्वाचित भएका छन् । नरैनापुर गाउँपालिकामा जसपाबाट इस्तियाक अहमद शाह र जयन्तीदेवी श्रीवास्तव दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।