नेपालगन्जको कार्यपालिकामा गोला प्रथाबाट शोभा र विक्रम विजयी, अल्पमतको जसपालाई ३ सदस्य

नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाको कार्यपालिका सदस्यमा दुई जना गोला प्रथाबाट निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नगेन्द्र चौलागाईका अनुसार सोामबार भएको मतदानमा शोभा खटिक र तरुन्नुन बानोको ५५ मत आएपछि गोला प्रथाबाट खटिक निर्वाचित भएकी हुन् । त्यसैगरी विक्रम चिडिमार र तिरथराम चिडिमारको पनि ५५ मत आएपछि गोला प्रथाबाट विक्रम निर्वाचित भएका हुन् ।
कार्यपालिका सदस्यमा अमृताकुमारी सिंह (५९), कुमारी प्रेरणा सिंह (५९), संगिता रेग्मी (५८), विना थापा (५६), वसन्तकुमार कनौजिया (५८), मो.मुनहिल हुसेन हलवाई (५६) मत ल्याएर विजयी भएका छन् । निर्वाचनमा नेपाली कांग्रेस र जनता समाजवादीका तीन तीन र राप्रपाका दुई जना कार्यपालिका सदस्य निर्वाचित भएका छन् । कांग्रेस, राप्रपासँग गठबन्धन गरेका नेकपा माओवादी केन्द्रका दुई जना र नेकपा एकीकृत समाजवादीका एक जना कार्यपालिका सदस्य पराजित भएका छन् ।

नेपालगन्जमा नगर प्रमुख, उप–प्रमुख, २३ वडाध्यक्ष, हरेक वडामा पाँच पाँच वडा सदस्य गरी ११७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । कांग्रेस–माओवादी–राप्रपा र नेकपा एस गठबन्धनमा कांग्रेसका ४२, माओवादीका ११ र राप्रपाका १४ सदस्य गरी ६७ मतदाता थिए । एमाले–जसपा गठबन्धनमा एमालेका २५ जना र जसपाका २५ जना जनप्रतिनिधि गरी ५० जना मतदाता थिए । जसपाका उम्मेदवारहरुले पाँच पाँच बढी मत ल्याएका थिए । नेपालगन्जको ३३ सदस्यीय कार्यपालिकामा जसपाका १०, कांग्रेसका ९, एमाले ५, माओवादी ४ र राप्रपाका ५ जना भएका छन् ।