नेपालगन्जमा २ वटा ह्याप्पिनेस प्रोग्राम र बालबालिकाको आर्ट एक्सल प्रोग्राम सम्पन्न

नेपालगन्ज : द आर्ट अफ लिभिङ नेपालगन्जको आयोजनामा शनिबार बाँकेमा २ वटा आनन्द उत्सव (ह्याप्पिनेस प्रोग्राम) र एउटा बालबालिका लक्षित आर्ट एक्सल प्रोग्राम सम्पन्न भएका छन् ।
न्यूरोडस्थित मतिना रेष्टुरेन्टमा योग प्रशिक्षक कञ्चन घिमिरे र वीपी चोकस्थित सुनाखरी रेष्टुरेन्टमा योग प्रशिक्षक काव्य लम्सालले ६/६ दिने ह्याप्पिनेस प्रोग्राममा सहजीकरण गरेका थिए । अन्तिम दिन दुबै टोेलीलाई एकै ठाउँमा राखेर सत्सङ गर्दै उत्सवका साथ समापन गरिएको थियोे ।

द आर्ट अफ लिभिङको भारतको बैंग्लोर आश्रमबाट आएका स्वामी पूर्णतेज र द आर्ट अफ लिभिङ नेपालकी कन्ट्री को–अर्डिनेटर मिखा माथेमाले पनि योग, ध्यान, ज्ञान र सेवाबाट सहभागीलाई उत्प्रेरणामूलक सन्देश प्रवाह गरेका थिए ।

६ दिने कार्यक्रमबाट सहभागीहरुले योग र ध्यानको माध्यमबाट कसरी नकारात्मक सोच हटाउने र बितेका कुराले पश्चताप हुने र भविष्यको बारेमा सोच्दा चिन्ता र डर हुने भएकाले वर्तमान कालमैै बाँच्नुपर्ने कुरा सिकेको बताएका थिए । कतिपयले पहिलो पटक योग, ध्यान र सुदर्शन क्रिया सिकेकाले जीवनमै नयाँ अनुभूति भएको बताएका थिए । हरेक दिन तीन तीन घण्टाको दरले सञ्चालन गरिएको कार्यक्रममा योगाभ्यास, ज्ञान, खेल खेलाउँदै जीवन जिउने कलाबारे जानकारी गराइएको थियो । दुबै तालिममा स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, ब्यापारीलगायत विभिन्न पेशा वा व्यवसासमा आबद्ध ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

त्यसैगरी नेपालगन्जमा पहिलो पटक द आर्ट अफ लिभिङको बालबालिका लक्षित आर्ट एक्सल प्रोग्राम पनि सम्पन्न भएको छ । नेपालगन्जकी माला शर्मा योग प्रशिक्षक भएर आएपछि पहिलो पटक योग प्रशिक्षक काव्य लम्सालको साथमा सञ्चालन आर्ट एक्सल आयोजना गरिएको हो ।