निकुञ्जमा वन्यजन्तुमैत्री पूर्वाधार नहुँदा बाँकेमा ८ वर्षमा ३७३ वन्यजन्तुको गाडीको ठक्करबाट मृत्यु

नेपालगन्ज : १९ कार्तिक ०७९ मा गाडीको ठक्करबाट चंगाइ नाला नजिकै चितुवाको मृत्यु भयो । २८ असोज ०७७ मा खैरीमा र ७ माघ ०७७ मा देउराली पोस्ट् नजिक लोपोन्मुख चौकाको ज्यान गयो ।
पूर्व–पश्चिम राजमार्ग र रत्नराजमार्गमा पर्ने बाँके निकुञ्ज क्षेत्रमा वन्यजन्तु आवतजावतमैत्री संरचना नभएका कारण बर्सेनि औसत ४७ र मासिक औसत ४ वटा वन्यजन्तुको गाडीमा ठक्कर लागेर मृत्यु हुने गरेको छ । निकुञ्जमा गाडीको ठक्करबाट चितुवा र चौका मात्र होइन, सबै खालका वन्यजन्तुको अकालमै ज्यान जाने गरेको छ । बाँके निकुञ्जका प्रमुख श्यामकुमार साहका अनुसार आर्थिक वर्र्ष ०७१र७२ देखि चालु आर्थिक वर्षको जेठ तेस्रो सातासम्म तीन सय ७३ वन्यजन्तुको दुर्घटनाबाट मृत्यु भइसकेको छ । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग ७२ किलोमिटर लामो छ । त्यस्तै रत्नराजमार्गमा पर्ने कोहलपुरदेखि बबईसम्मको राजमार्गको लम्बाइ ३० किलोमिटर पर्छ ।