‘लु’ चलेपछि नेपालगन्ज र खजुराका विद्यालयमा ५ दिन गर्मी विदा

नेपालगन्ज : तातो हावा ‘लु’ चलेर पठनपाठन प्रभावित भएको भन्दै बाँकेको नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले बिहीबार एक सूचना प्रकाशित गरी गर्मीका कारण विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै शुक्रबारदेखि ५ दिन (जेठ २७–३१सम्म) सबै खालका विद्यालयको पठनपाठन बन्द गर्न सरोकारवालाहरुलाई जानकारी गराएका छन् ।
त्यसैगरी खजुरा गाउँपालिकाले पनि बिहीबार नै सूचना प्रकाशित गरेर लु चलेर पठनपाठन सञ्चालन गर्न नसकिने भन्दै पाँच दिने विदा दिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्रबहादुर मल्ले जनाएका छन् । गाउँपालिकाले पूर्वनिर्धारित परीक्षा र अन्य प्रशासनिक कार्यका लागि प्रशासन कक्ष भने खुला रहने सूचनामा उल्लेख छ ।