जिसस बाँकेमा प्रमुख, उप-प्रमुखसहित कांग्रेसको बहुमत, माओवादी, नेकपा (एस) र जसपाका एक-एक सदस्य निर्वाचित

नेपालगन्ज : जिल्ला समन्वय समिति बाँकेमा नेपाली कांग्रेसको बहुमत भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जद्वारा शुक्रबार सम्पन्न मतदान र मतगणनामा कांग्रेसका ज्ञानेन्द्रकुमार चौधरी १३ मत प्राप्त गरी जिसस प्रमुखमा निर्वाचित भएका हुन । उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उमेशकुमार कुर्मीले ३ मत मात्र प्राप्त गरे । उप प्रमुख पदमा भने कांग्रेसकी सीता कार्कीको एकल उम्मेदवारी परेकाले निर्वारोध निर्वाचित भएकी हुन् ।
समितिको सदस्य (महिला) पदमा नेकपा (माओवादी केन्द्र)की रेवती दमाइ र नेकपा (एकीकृत समाजवादीकी) चमेली थरुनीले १३ १३ मत प्राप्त गर्दै निर्वाचित भए । यसैगरी जसपाकी तरन्नुन बानो शेषले ३ मत प्राप्त गरेर निर्वाचित भएकी छन् । समन्वय समितिको सदस्य (खुल्ला) मा भने नेपाली कांग्रेसका उदयनारायण मिश्र, जुलफकार अली मनिहार र सन्तकुमार थारु तथा दलित वा अल्पसंख्यक सदस्यमा जगदिश बाल्मिकी भने यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
जिसस निर्वाचनमा कूल १६ मतदाता रहेकोमा कांग्रेसको एकल बहुमत अर्थात १२ मतदाता छन् । जसपाका ३ र माओवादी केन्द्रका १ जना मतदाता हुन् । एकल बहुमत भए पनि सत्ता गठबन्धनका दललाई कांग्रेसले एक-एक जना सदस्य दिएको छ । एकल बहुमत भए पनि सत्ता गठबन्धनका दललाई कांग्रेसले एक एक जना सदस्य दिएको छ । निर्वाचित प्रमुख, उपप्रमुख र सदस्य सबै जनाले शुक्रबार नै पदभार ग्रहण गरेका छन् ।