स्व.अच्युतराज सुवेदीको सम्झनामा ३१ जनाद्वारा रक्तदान

नेपालगन्ज : अच्युतराज सुवेदी स्मृति प्रतिष्ठान नेपाल बाँकेले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् ।
केही दिन यता रगतको अभाव भइरहेको बेला भेरी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाइटीको क्षेत्रीय रक्तसञ्चार केन्द्रमा आइतबार आयोजना गरिएको कार्यक्रममा २८ पुरुष र तीन महिलाले रक्तदान गरेको कार्यक्रम संयोजक सुधीर गौतमले जानकारी दिए । गौतमले भने, ‘स्व.अच्युतराज सुवेदीको स्मृतिमा हरेक वर्ष कुनै न कुनै कार्यक्रम आयोजना गर्दै आएका थियौं । यस पटक रगत अभाव भएको थाहा पाएपछि रगत अभावबाट कसैले ज्यान गुमाउन नपरोस् भन्दै मानवीय कार्यका लागि रक्तदान गरेका हौं ।’
हरेक दिन कुनै न कुनै सामाजिक संघसंस्थाले रक्तदान गरे पनि पर्याप्त मात्रामा रगतको अभाव पूर्ति नभइसकेको क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी बताउँछन् । केन्द्रले बाँकेमा अस्पतालहरुका लागि दैनिक सरदर ४० पिन्ट रगत प्रदान गर्दै आएको जनाएको छ ।