टीकापुरमा हावाहुरीले केराखेतीमा ठूलो नोक्सानी

मानबहादुर ठकुल्ला । टीकापुर
शनिबार दिउँसो आएको हावाहुरीबाट कैलालीको टीकापुरमा केराखेतीमा ठूलो नोक्सानी भएको छ ।
टीकापुरका किसान टेकेन्द्र धामीको १० बिघामा लगाएको केराखेती हावाहुरीले ढालेको छ । धामी जस्तै व्यवसायिक रुपमा केराखेती गर्ने एक दर्जन बढी किसानको केरा ढलेर नोक्सान भएको टीकापुर–७ का किसान कृत ठकुल्लाले बताए । टीकापुर केराखेतीका लागि उर्वर भूमि मानिन्छ । यहाँ सयौँ बिघा जमिनमा खेती गरिएको छ । हावाहुरीले तरकारी खेतीमासमेत नोक्सानी गरेको छ । ‘लहरे तरकारी बाली सबै ढालेको छ । लटरम्म फलेका बोडी, फर्सी, काक्रा, लौका, करेलाजस्ता तरकारीमा नोक्सान भएको छ’, टीकापुर–८ बनगाउका किसान कृष्णगोपाल चौधरीले भने, ‘तरकारी बारी पूरै हावाहुरीका कारण धुलाम्मे भएको छ । माटो र बालुवा आएर बारीमा भरिएको छ ।’ हावाहुरीका कारण क्षति भएको विवरण आइरहेकाले क्षतिको विवरण सङ्कलन गरी नगरपालिकाले पीडामा रहेका किसानलाई राहत स्वरुप कार्यक्रम ल्याउने टीकापुर नगर उप–प्रमुख खड्कबहादुर शाहले बताए । ‘जताततैबाट क्षति भएको विवरण आउन थालेका छन्’, उनले भने, ‘कार्यपालिका र नगर विपद् व्यवस्थापन समितिको बैठक बसेर राहतका कार्यक्रम ल्याउँछौँ ।’ हावाहुरीसँगै वर्षा भएपछि भने शीतल भएको छ । गर्मी बढेपछि यस क्षेत्रका विद्यालय केही दिनदेखि बन्द छन् । हावाहुरीले जिल्लामा सयौँ घर, विद्यालयका छाना उडाएको छ । ठाउँ–ठाउँमा बिजुलीका पोल पनि ढलेका छन् ।