‘बालश्रम मुक्त नेपालगन्ज बनाउने प्रतिबद्धता’

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नगरलाई बालश्रम मुक्त बनाउने प्रतिबद्धता जनाएका छन् ।
उपमहानगरपालिकाले विश्व बालश्रमबिरुद्ध दिवसको अवसरमा आइतबार नेपालगन्जमा बालश्रमबिरुद्धको क्षेत्रमा कार्यरत सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख विष्टले नगरमा बालश्रम ठूलो समस्याको रुपमा रहेको भन्दै यसको नियन्त्रण र रोकथाम अति आवश्यक भएको बताए । उनले भने, ‘नेपालगन्जलाई बालमैत्री नगरको रुपमा विकास गर्दै हामी अघि बढ्नेछौं ।’ उनले बालश्रम मुक्त नगरका लागि कार्ययोजना बनाउन र आफूले आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा उप–प्रमुख कमरुद्धिन राईले बालश्रममा रहेका व्यक्तिलाई घरमै पुनस्र्थापना गर्ने भन्दा समस्याको जडको खोजी गरी दीगो समाधान गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अधिकांश विपन्न समुदायका बालबालिका नै बालश्रममा छन् । बालबालिकाले काम नगरे साँझ विहानको चुल्हो नजल्ने अवस्था छ । त्यस्ता घरपरिवारलाई लक्षित गरेर कार्यक्रम प्रस्ताव गर्न आग्रह गर्छु ।’ विपन्न परिवारलाई आयआर्जनका लागि सहयोग गर्ने र शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने हो भने बालश्रम न्यूनीकरणमा सहयोग पुग्ने उनको जोड थियो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका महिला विकास अधिकृत पवित्रा पुरी र बाल अधिकारकर्मी महेश नेपाली लगायतले सहजिकरण गरेका थिए ।