बाँके-बर्दियाका स्कुलमा ३-३ दिन गर्मी विदा थप

नेपालगन्ज : बाँके र बर्दियाका केही स्थानीय तहले विद्यालयमा पाँच दिने गर्मी विदा सकिँदा पनि तापक्रम नघटेपछि फेरि तीन दिन विदा थप गरेका छन् । अब विद्यालय ५ असारमा मात्र खुल्नेछन् ।
बाँकेको खजुरा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाले मंगलबार अर्को सूचना जारी गरेर ३ असारसम्म विदा थप गरेका छन् । यसअघि ३१ असारसम्म पाँच दिन विदा दिइएको थियो । नेपालगन्ज उप–महानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द शर्माले फेसबुक स्टाटसमा ‘अत्याधिक गर्मीका कारण नेपालगन्जका विद्यालयमा दिइएको विदा असार ३ गतेसम्म थप भएको छ’, लेखेका छन् ।
जिल्लाको डुडुवा गाउँपालिकाले पनि पाँच दिन विदा दिएको छ भने कोहलपुर नगरपालिकाले पनि पाँच दिन गर्मी विदा दिएको थियो ।त्यसैगरी बर्दियाको गुलरिया नगरपालिकाले पनि मंगलबार एक सूचना जारी गरी ३ असारसम्म गर्मी विदा थप गरेको जनाएको छ । बाँके बर्दिया क्षेत्रमा एक साता यता दैनिक औसत ४० डिग्री सेल्सियस तापक्रम मापन हुँदै आएको छ ।