ओरोलो लागेको कपास खेती विस्तारमा कपास विकास समिति

राजपुर (दाङ) : कपास विकास समिति प्रधान कार्यालय खजुरा ओरालो लागेको कपास खेतीलाई पुनः व्यवसायिक रुपमा विस्तार गर्ने अभियानमा लागेको छ ।
समितिका पदाधिकारी र अधिकृतहरु लामो समयको अन्तरालपछि पहिलो पटक विगतको कपास पकेट क्षेत्रमा पुगेर पुनः कपास खेतीका लागि किसानलाई प्रोत्साहन गरिरहेको छन् । उनीहरुलाई व्यवसायिक कपास खेतीको ज्ञान बाँडिरहेका छन् । लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङलगायतका जिल्लामा विगतमा कपास खेती हुन्थ्यो ।

समितिले मंगलबार दाङका विभिन्न क्षेत्रका किसानलाई कपास खेतीबारे एक दिने तालिम दिएको छ । कपास प्रसार क्षेत्र लमही अन्तर्गत पर्ने दाङ जिल्लाको राजपुर गाउँपालिका-१ पटौली नाकामा समितिले एक दिने कपास खेती प्रविधि सम्बन्धी एक दिने तालिम दिएको हो ।

तालिम उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि कपास विकास समितिका अध्यक्ष हेमन्तराज काफ्लेले किसानको समस्या बुझेर नयाँ कपासको बीउ ल्याएको बताएका थिए । अध्यक्ष काफ्लेले सिँचाइका लागि पानी सन्चय गर्ने केही प्रविधि अपनाउने नियमित प्राविधिक पठाउने, जोत्नका लागि कपास विकास समितिको तर्फबाट हाते ट्याक्टर सहयोग गर्ने र किसानका मागहरु पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।

तालिममा कपास विकास समितिका सहायक प्राविधिक हिरालाल चौधरीले कपास खेतीका लागि माटो छनोट, लगाउने तरिका, दाना बीउ हाल्ने विधि, बिउको दूरी, सिँचाइ, गोडमेलका बारेमा जानकारी दिएका थिए । समितिका अधिकृत विजयकुमार जोशीले कपास खेतीका चुनौती, कपासमा लाग्ने किरा, किटनासक औषधिको प्रयोग र घरेलु उपायको बारेमा जानकारी दिएका थिए । किसानलाई उत्प्रेरित गर्न जोशीले यो वर्ष आफूले एक बिगाहा जग्गा भाडामा लिएर कपास खेती गरिरहेको बताएका थिए । तालिममा २५ बढी कपास लगाउने किसानको उपस्थिति थियो । कपास खेतीमा ठूलो सम्भावना रहेको दाङको राजपुर गाउँपालिका-१ मा ४० बिगाहा क्षेत्रफलमा कपास खेती हुन्छ ।