डुडुवाका युवालाई उद्यमी बनाउने अभियान सुरु

रमेशकुमार यादव । साहपूर्वा
बाँकेको डुडुवा गाउँपालिकामा युवालाई उद्यमी बनाउने अभियान सुरु भएको छ ।
गाउँपालिकाको कृषि शाखा प्रमुख सुशीलकुमार शर्माका अनुसार स्थानीय युवालाई उद्यमी बनाउने र किसान र सेवा प्रदायक निकायबीच सम्बन्ध सुमधुर, सेवा सरल र सहज पहुँच बनाउन
दायित्व नेपाल जनप्रशासन फेलोसीप २०२२ सञ्चालन गरिएको हो । कार्यक्रमको पहिलो बैठक गाउँपालिका उपाध्यक्ष शाइदा बानोको प्रमुख अतिथ्यमा बिहीबार सम्पन्न भएको छ । उपाध्यक्ष बानोले स्थानीय युवाहरुलाई कृषिमुखी सीपमूलक तालिम दिने बताइन् । उनले डुडुवालाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता जनाइन् ।
कृषि मार्फत युवा उद्यमी बनाउने अभियान सुरु भए पनि डुडुवामा पशु सेवा शाखाबाट प्रदान गरिने घरदैलो पशु उपचार सेवा भने बजेट अभाव भएको कारण देखाउँदै बन्द गरिएको छ। कार्यक्रममा डुडुवा-५ का किसान केवलबहादुर बोहराले पशु घरदैलो उपचार सेवा किन बन्द भयो भनेर राखेको जिज्ञासामा गाउँपालिका उपाध्यक्ष बानोले आर्थिक समस्याका कारण बन्द भएको जानकारी दिइन् । किसान रसायनिक मलको अभाव झेलिरहेका छन् । चालु आर्थिक वर्षमा अविरल वर्षा र बाढीका कारण क्षति भएको धान बालीको क्षतिपूर्ति भने दिन सुरु गर्ने तयारी भइरहेको छ ।