चुरे दिवसमा पश्चिममा २० हजार विरुवा रोपिँदै

गाभर भ्याली (बाँके) : राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिले यस वर्ष पश्चिम नेपालका बाँके, बर्दिया, कैलालीलगायतका जिल्लामा २० हजार बिरुवा रोप्ने योजना बनाएको छ ।
८औ चुरै दिवसको अवसरमा एक लाख बिरुवा लगाउने लक्ष्यसहित पश्चिममा २० हजार बिरुवा रोप्न सुरु भएको हो । तराई मधेस चुरे संरक्षण कार्यक्रम कार्यान्वयन इकाइ लम्कीको आयोजनामा बिहीबार बाँकेकोे बैजनाथ गाउँपालिका १ गाभरस्थित रारा आधारभूत विद्यालय परिसरमा लुम्बिनी प्रदेशको वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले बिरुवा रोप्ने कार्यको शुभारम्भ गरेका हुन् ।

असार महिना वृक्षारोपण महिनाका रूपमा मनाउँदै महिनाभरि कम्तीमा पाँच लाख वृक्षारोपण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ वटा जिल्लामा कूल भू–भागको १२.७८ प्रतिशत क्षेत्रमा फैलिएर रहेको चुरे पहाड रहेको छ ।