नक्कली सुनका गहना बनाएर ठगी गर्ने गिरोहका ७ जना पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले नक्कली सुनका गहना बनाएर ठगी गर्ने गिरोहका ७ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरले बिहीबार दिउँसो बैजनाथ गाउँपालिकाको सम्झना बजारबाट गिरोहमा संलग्न रहेको अभियोगमा ७ जनालाई पक्राउ गरेको हो । इप्रकाका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका २ की ४२ वर्षकी निर्मला बोहोरा, सोही वडाकी २३ वर्षीया मुनराधा बपाल मगर, खजुरा गाउँपालिका २ का ३८ वर्ष तिलक सुनार, अर्घाखाँचीको पाणिनी गाउँपालिका २ का ३३ वर्षका सन्तोष सुनार, नवराव विश्वकर्मा, बैजनाथ २ का १९ वर्षका दिनेश सुनार र पाल्पाको भुवनपाइखरी गाउँपालिका६ का २१ वर्षका बाबुराम सुनार रहेका छन् । उनीहरुबाट प्रहरीले नक्कली सुनका तिलहरि ३ थान, माइली तिलहरि १६ वटा, बाला ८ वटा, मरहरि र जुली एक एक थान बरामद गरेको थियो । सुन काट्ने कैची २ थान, सुन पगाल्ने ग्यास पम्प एक थान, सुन सुकाउने पम्प एक थान, हथौडा एक वटा, सनासो एक वटा, औठी बनाउने फलामको डण्डी एक वटा पनि बरामद गरेको थियो । त्यसैगरी ताल बराही ज्वैलर्स, मालिका सुनचाँदी पसल, पञ्चमुखी ज्वैलर्सका एक एक वटा ठेलीसँगै नगद ४० हजार रुपैयाँ पनि बरामद गरेको छ । इप्रका कोहलपुरले उनीहरुबारे अनुसन्धान गरिरहेको जनाएको छ ।