‘सूचनाको महामारी रोगभन्दा पनि खतरनाक’

स्वास्थ्य पत्रकार मञ्च नेपालले कोरोना भ्याक्सिनबारे नेपालगन्जमा आयोजना गरेको कार्यक्रम

नेपालगन्ज : बरिष्ठ स्वास्थ्य पत्रकार कल्पना आचार्यले सूचनाको महामारी रोगभन्दा पनि खतरनाक भएको बताएकी छन् ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको सहयोगमा स्वास्थ्य पत्रकार मञ्च नेपाल काठमाडौंले आइतबार नेपालगन्जमा आयोजना गरेको कोभिडविरुद्ध भ्याक्सिन प्रबद्र्धन सम्बन्धी कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष आचार्यले मिडियाबाट हुने सूचनाको महामारीबाट समाजलाई नकारात्मक प्रभाव पर्ने बताइन् । उनले भनिन्, ‘हामीले कोरोना महामारी बुझ्यौं । यसले धेरैको ज्यान लिएको समाचार पनि लेख्यौं । सूचनाको महामारी त रोगभन्दा पनि खतरनाक हुन्छ । यस्तो महामारी पत्रकार र सञ्चार माध्यमले रोक्नुपर्छ ।’
उनले तीन प्रकारले गलत सूचना सम्प्रेषण हुने तर्फ औंल्याउँदै सही स्रोतबाट सही सूचना नपाउँदा अन्जानमै हुने मिस इन्फरमेसन, जानाजान नियत नै खराब राखेर गरिने डिस इन्फरमेसन र व्यक्तिकोे गोपनीयताको हक विपरित सार्वजनिक गर्ने माल इन्फरमेसनबाट पनि पत्रकार जोगिनुपर्ने बताइन् ।
सोही कार्यक्रममा जमुनाहा हेल्थ डेस्कका ल्याब असिस्टेन्ट चिरञ्जीवी ज्ञवालीले ३६ दिनको अवधिमा एक हजार दुई सय ८४ जनाको एन्टिजेनबाट कोरोना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जेठमा ९ जना र असारमा ८ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले ९ असारदेखि बाँकेमा ५ वर्षदेखि ११ वर्ष उमेर समूहका ७६ हजारबढी बालबालिकालाई कोभिडविरुद्धको फाइजर–बायोएनटेक खोप दिइने बारे जानकारी गराएका थिए ।

असार ९, १० र ११ गतेसम्म चल्ने खोप अभियानमा सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकामा २० हजार २३१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ भने सबैभन्दा कम नरैनापुर गाउँपालिकामा ६ हजार ३३२ जनालाई खोप लगाउने लक्ष्य रहेको श्रेष्ठले प्रष्ट पारे ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाँकेकी निमित्त प्रमुख सुनिता पौडेलले स्वास्थ्यका अभियानबारे पत्रकारको सकारात्मक सहयोगबारे अनुरोध गरेकी थिइन् । पत्रकार रुद्र सुवेदीले कोरोना महामारीका बेलामा पत्रकारले सूचना सम्प्रेषणमा संवेदनशीलता अपनाएको भन्दै स्वास्थ्य क्षेत्रका स्रोतले समयमै पत्रकारलाई सूचना प्रभाव नगर्दा कहिले काँही सही सूचना सही समयमा सम्प्रेषण नभएको बताएका थिए ।