वर्षा नहुँदा बाँकेमा १४ असारसम्म ३ प्रतिशत मात्र रोपाइँ

नेपालगन्ज : बाँकेमा असारको दोस्रो सातासम्म सिँचाइको अभावमा तीन प्रतिशत किसानले मात्र रोपाइँ गरेका छन् ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार जिल्लामा ३६ हजार ५०० हेक्टरमा धान खेती हुने गरेकोमा सिँचाइ सुविधा भएको एक हजार बढी क्षेत्रफलमा मात्र मात्र धान रोपिएको छ । प्रमुख ढकालले भने, ‘धानको बिउ अधिकांशले राखेका छन् । वर्षा हुने बित्तिकै रोपाइँ हुने सम्भावना रहेको छ ।’ जिल्लामा १४ हजार ४०० हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा रहेको र अरु सबै खेतमा आकासे पानीको भरमा मात्र सिँचाइ हुने गरेको प्रमुख ढकालले प्रष्ट पारे । जिल्लामा खेतीयोग्य जमिन भने ५७ हजार हेक्टर रहेको छ ।