बाँकेको शंकरमावि थपुवाका प्रधानाध्यापक विरुद्ध बिशेष अदालतमा मुद्दा दायर

३ लाख बढी रकम हिनामिना गरेको आरोप

नेपालगन्जः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको बैजनाथ गाउँपालिका–६ स्थित शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक युनुस खाँविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ ।
प्रधानाध्यापक खाँविरुद्ध विद्यालयको सार्वजनिक सम्पत्ति ३ लाख २ हजार १ सय ९७ रुपैयाँ हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरिएको हो ।
उनीमाथि विद्यालयमा छात्रवृत्तिका लागि प्राप्त रकम कम्प्युटर खरिद, भवन निर्माण, शौचालय निर्माण र विद्यालयको आन्तरिक स्रोत दुरुपयोग हुने गरी भ्रष्टाचार गरेको आरोप लागेको छ । तत्कालिन जिल्ला शिक्षा कार्यालय बाँकेबाट २०६८ सालदेखि २०७४ सालसम्ममा छात्रवृत्तिको लागि प्राप्त रकम र विद्यालयको आन्तरिक स्रोत समेतको दुरुपयोग गरेको भन्ने उजुरीका आधारमा अख्तियारले छानविन गरेको जनाएको छ ।
खाँले शिक्षा नियमावली, २०५९ को परिच्छेद २९ नियम १६५ मा विद्यालयले प्राप्त रकम जुन कामको लागि खर्च गर्न निकासा भएको हो सोही काममा मात्र खर्च गर्नुपर्ने भन्ने व्यवस्था विपरीत तोकिएको शीर्षकमा खर्च नगरी हिनामिना गरेको पुष्टि हुन आएको हो । आयोगले निजलाई उक्त कसुरमा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको ३ लाख २ हजार १ सय ९७ रुपैयाँ बिगो कायम गरी मंगलबार बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ ।