प्रहरीले जमुनाह नाकामा पक्राउ गरेको कन्टेनरमा के छ ?

नेपालगन्ज : शुक्रबार बिहान करिव साढे ९ बजे बाँकेको नेपालगन्ज स्थित जमुनाह नाकामा नेपालबाट भारत जाँदै गरेको आर जे ०९ जीबी ४५४२ नम्बरको कन्टेनर प्रहरीले नियन्त्रणमा लियो ।

निकासी प्रमाणिकरण बिना भारत जान लागेको कन्टेनरका चालक सीमानाकामा गाडी ईन्ट्री गर्ने क्रममा भागेपछि सशस्त्र प्रहरी र जमुनाह प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको हो । कन्टेनर खोलेर हेर्दा भित्र छुट्टै लकरमा ताला लगाएको पाइएको थियो ।

कन्टेनरमा नगद सहित सुन, चाँदीका गहना र लागुऔषध भेटीएको भन्दै उक्त फोटो सामाजिक सन्जालमा समेत भाईरल भयो । केहीबेरमा जमुनाह नाकावाट उक्त कन्टेनर ईलाका प्रहरी कार्यालय जमुनाहमा ल्याईयो । जिल्ला प्रहरीको निर्देशनमा वडा प्रहरी, सशस्त्र प्रहरी, भन्सार, पत्रकार र स्थानीयको रोहबरमा कन्टेनरको ताला खोलियो ।

भित्र हेर्दा कन्टेनर भित्रको अर्को सानो बन्द कोठा जस्तो लकरमा २५ किलोका २५० बोरा अवैध सामान भेटिएको ईलाका प्रहरी कार्यालय जमुनाहका ईन्जार्च माधव रिजालले जानकारी दिए । ‘त्यो सामान के हो भन्ने एकीन भई सकेको छैन’ उनले भने ‘बोरीमा ह्वाइट पोप्पी सिड, प्रोडक्ट अफ तुर्की लेखिएको छ ।’ यसको वास्तविक जानकारी भने ल्याव टेस्ट भएपछि मात्र थाहा हुने उनको भनाई छ । बरामद गरिएको सामान के हो भन्ने एकीन जानकारी आउँदै गर्ला तर मुख्य नाकावाटै यसरी अवैध सामाग्री भारत निकासी हुने गरेको तथ्य भने बाहिरीएको प्रहरीले स्विकारेको छ ।