योग शिविरमा रमाए बाल सुधार गृहका बालक
नेपालगन्ज : एउटै बाल सुधार गृहमा बसे पनि एकापसमा परिचय हुँदैनथ्यो । खाना खाने बेलामा भेट हुन्थ्यो । कुराकानी हुँदैनथ्यो । कोही स्कुल जान्छन् । कोही स्वअध्ययन गर्छन् । फुर्सदमा कति पढाइमा मस्त हुन्छन् । कोही फुटबल, भलिबल, क्रिकेट, ब्याटमिन्टन आदि खेल्छन् । खायो, पियो, सुत्यो, धेरैको दिनचर्या यस्तैै हुन्थ्यो । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको जयेन्दु बाल सुधार गृहमा शुक्रबार पहिलो पटक बालकहरु एक अर्काबीच खुले । कति जना पहिलो पटक मञ्चमा उक्लिए । माइकमा बोलेर कतिले नौलो अनुभूति संगाले । आफ्नो भावी योजना र रुची सुनाए । निर्धक्क परिचय दिए । त्यो पनि आफ्नो होइन, जोडी साथीको । योग गर्दै खेल्द्रै उनीहरुले दुई घण्टा बितेको पत्तै पाएनन् । यस्तो अवसर जुराएको थियो, द आर्ट अफ लिभिङ नेपालगन्जले ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र प्रिजन फाउण्डेसनको सहयोगमा जयेन्दु बाल सुधार गृहको समन्वयमा आर्ट अफ लिभिङले आयोजना गरेको पाँच दिने नव चेतना शिविरको पहिलो दिन नै बालकहरु निकै रमाए । ‘तपाईहरु अगाडि आएर निर्धक्क बोलेको देख्दा मलाई निकै खुसी लागेको छ’, बाल सुधार गृहकी इन्चार्ज विमला काउचाले भनिन्, ‘यो सुधार गृह तपाईहरुको लागि होस्टेल हो । यहाँ शिक्षा, खेलकुद, मनोञ्जन, योग, ध्यान र ज्ञानका साथै सीपमूलक तालिम सञ्चालन गरेर तपाईहरुमा रहेको क्षमता उजागर गर्ने र क्षमता अभिवृद्धि गर्र्ने काम हुनेछ ।’
शिविरमा द आर्ट अफ लिभिङका स्वयंसेवकद्वय शंकरप्रसाद खनाल र सुधीर गौतमले सहजीकरण गरिरहेका छन् । शिविरमा योग, ध्यान, प्राणायाम, अध्यात्मिक ज्ञान, मनोरञ्जनमूलक खेल, सत्सङ, सेवाका कार्यक्रमहरु सञ्चालन हुनेछन् । ‘शिविरमा बालकहरु शत्प्रतिशत मन लगाएर सहभागी भए । अधिकांशको मुहारमा मुस्कान झल्किन्थ्यो’, सहजकर्ता गौतमले अनुभव सुनाए । शिविरमा १२–१८ वर्ष उमेर समूहका ६८ जना बालकहरु सहभागी भएका छन् ।
१९ जेठ २०७९ मा द आर्ट अफ लिभिङले जयेन्दु बाल सुधार गृहमा आयोजना गरेको ‘डिभाइन सेसन विथ स्वामीजी’ विषयक कार्यक्रममा भारतको बैंग्लोर आश्रमबाट आएका स्वामी पूर्णतेज र द आर्ट अफ लिभिङ नेपालकी कन्ट्री को–अर्डिनेटर मिखा माथेमाले सुधार गृहमा योग शिविर आयोजना गर्ने प्रतिबद्धता जनाए अनुसार नै नव चेतना शिविर सञ्चालन गरिएको हो । आर्ट अफ लिभिङले चाँडै अन्य कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ ।