पानी नपर्दा बाँकेमा ६० प्रतिशत खेत बाँझै

कृषकहरु नालाको फोहोरपानी तानेर सिँचाई गर्न बाध्य

नेपालगन्ज : बाँकेमा लामो समय सम्म पानी नपर्दा ६० प्रतिशत खेत बाझै छन ।

आकासे पानीको भरमा खेती गर्नुपर्ने जिल्लाका अधिकाँस स्थानमा सिँचाई अभावमा रोपाई हुन नसकेको हो । कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश भट्टराईका अनुसार खेतीका लागि पर्याप्त पानी चाहिने बेलामै बर्षात नभएपछि जिल्लाका कतीपय स्थानको रोपाइ प्रभावित भएको छ भने अत्यधिक गर्मी र पानी अभावका कारण लगाएको बाली सुक्न थालेको छ । असारको दोस्रो साता पहिलोपटक परेको पानी र सिँचाई सुविधा पुगेका केही स्थानमा धान रोपाई गरेपनि आकासे पानीको भर पर्ने किसानले खेत बाँझै राखेको उनको भनाई छ ।


गत वर्ष पर्याप्त वर्षा हुँदा हालसम्म जिल्लामा ९५ प्रतिशत रोपाई सकिएको थियो । तर यस वर्ष पानी नपर्दा हालसम्म करिव ४० प्रतिशत मात्रै रोपाई भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । जसमध्य सबैभन्दा बढी राप्तीसानोरीमा ३० प्रतिशत र नरैनापुरमा १० प्रतिशत मात्रै धान रोपाई भएको छ ।

पानी नपरेपछि किसानहरु नालाको फोहोर पानी मोटर पम्पको सहायताले तानेर सिँचाई गर्न बाध्य छन । पानी पर्ने आसमा जेनतेन रोपाई गरेका किसानपनि लामो समय सम्म पानी नपर्दा समस्यामा परेको बताउँछन ।