‘बुह्रान’ उपन्यासमा साहित्यकार ढकालको आञ्चलिकता सिद्धान्तको अभ्यास
नेपालगन्ज :
…चलो साली बुह्रान जाइ कैसिन मजा आइ…
थारु भाषामा निकै रुचाइएको यो गीतबाट धेरैले बुह्रान शब्द सुने । कतिले बुह्रानको अर्थ बुझे वा बुझेनन् तर पनि गीत गुनगुनाए । साहित्यकार महानन्द ढकालले आञ्चलिकता सिद्धान्तमा आधारित भएर बुह्रान उपन्यास लेखेका छन् । उपन्यासमार्फत धेरैको बुह्रान जिज्ञासा मेटाउँदैछन् ।
पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई बुह्रान क्षेत्र भनेर चिनिन्छ । बुह्रानमा गरिव थारू तथा पहाडी समुदायको अन्तर सम्बन्ध तथा सहकार्यलाई उपन्यासको मुख्य विषयवस्तु बनाइएको छ ।
गास, बास र कपासका लागि थारूहरूको रोजाइमा परेको बुह्रानको कथा हिमालकी निङ्माले पहाडकी पार्वती र तराइका माइला थारूलाई प्रमुख पात्र बनाएर उधिनेकी छन । त्यसैले उपन्यासकार ढकाल ‘बुह्रान’ उपन्यासलाई जातीय समानता र सहकार्यको कथा पनि भन्न रुचाउँछन् ।
थारू संस्कार र संस्कृतिको अध्ययनलाई प्राथमिकतामा राखेर लेखिएको यो उपन्यासमा थारूहरूको जीवनचर्या र सामाजिक उपस्थितिको मूल्याङ्कन गरिएको छ । बसाइसराइका बाध्यता एवं थारू समुदायमा लामो समयसम्म प्रचलित कमैया तथा कमलह्री प्रथाबाट र्सिजित अवस्थालाई समेटिएको यस उपन्यासमा जातीय समानताका लागि अन्र्तजातीय विवाह महत्वपूर्ण हुनसक्ने कुरा औंल्याउन खोजिएको छ । समान आर्थिक हैसियत भएका फरक समुदायका पार्वती र माइलामध्ये पार्वतीको जीवनस्तरमा परिर्वतन आउँदा माइलाको जीवनस्तरमा परिर्वतन नआउनुका कारणहरूको खोजी गरिएको छ ।
उपन्यासमा थारू जाति र उनीहरूले ज्यानको बाजी लगाएर गरिएका कन्द्रा आन्दोलन, कमैया मुक्ति आन्दोलन, कमलह्री, थरूहट र भूमिगत आन्दोलन आदिबाट प्राप्त उपलब्धिहरूको लेखाजोखा गरिएको ढकाल बताउँछन् ।
यो उपन्यासको अर्को विशेषता भनेको आँचलिकता पनि हो । पढ्दा पनि बुह्रान क्षेत्रमै रहेको महसुस हुनेछ । ‘थारू थारूसङ्ग बोल्दा थारु भाषा नै प्रयोग भएको छ । थारू भाषा, संस्कार र संस्कृतिका कुराहरू छन् । गरिब थारूहरूमा परिवर्तन नआउनुका कारणहरू खोतलिएको छ’, ढकालले उपन्यासको रचना गर्भ सुनाए ।
सांग्रिला बुक्स काठमाडौंले प्रकाशनको अन्तिम तयारी गरिरहेको यो उपन्यासको आवरण पृष्ठ सार्वजनिक भएपछि गीतमा जस्तै बुह्रानबाट कैसिन मजा आइ…भनेर प्रतिक्षा भइरहेको छ । बहुप्रतिक्षित बुह्रान उपन्यास कहिले बजारमा आउँछ त ? ढकाल भन्छन्, ‘साउनको पहिलो हप्तासम्म विमोचन गर्ने तयारी छ ।’