राजापुरको बाढी प्रभावित क्षेत्रमा धान बाली बिमा कार्यक्रमबाट किसान खुसी

मानबहादुर ठकुल्लाराजापुर
बर्दियाको राजापुर नगरपालिकाको बाढी प्रभावित क्षेत्रमा धान बाली बिमा कार्यक्रम सञ्चालन गरिएको छ ।
समुदाय स्तरीय विपद् व्यवस्थापन समितिका अध्यक्ष बाँधुराम चौधरीका अनुसार राजापुर-९ का गोडियाना, चैनपुर, दुर्गानगर, भीमापुर र खल्लाटोल हरेक वर्ष कर्णाली नदीको बाढीबाट आजित हुन्थे । बाढीले धानबाली सबै नोक्सान हुन्थ्यो । किसानलाई जीविकोपार्जनमा कठिनाइ हुन्थ्यो ।

एडीपीसीको आर्थिक सहयोगमा स्टोनस्टेप टीएफडी र प्राक्टिकल एक्सन नेपालको संयुक्त साझेदारीमा सञ्चालित पश्चिम नेपालमा जलवायु जोखिमयुक्त कृषिका लागि सूचकाङ्कमा आधारित बाढी बिमा कार्यक्रम स्टोनस्टेपको प्रविधिक सहयोगमा नारी कल्याण साना किसान कृषि सहकारी संस्था राजापुर–९ भीमापुर बर्दियाले शिखर इन्सोरेन्स कम्पनी लि.को संस्थागत अभिकर्ता भइ आफ्नो सेयर सदस्य कृषकहरुको सामूहिक बाढी बिमा गरिएको छ । सहकारीले नमूना परीक्षणका लागि २ देखि ५ कट्ठासम्मको धान खेतको बिमा गराएका छन् । २१७ जना किसानको २० हेक्टर क्षेत्रफलमा लगाएको धानबालीको बिमा गर्न सफल भएको नारी कल्याण सहकारीका बिमा कार्यक्रम संयोजक हिराकुमारी चौधरीले बताइन् । मौसमी सूचकाङ्कको आधारमा बिमा कार्यक्रम अन्तर्गत कर्णाली नदीको बाढी सूचकाङ्कको मापन गरि छिटो छरितो र भरपर्दो सूचना प्रविधिको प्रयोग गरि घरदैलोबाटै बिमा गरिएको र दावी भुक्तानी पनि यसरी नै सहज हुने कुरामा विश्वस्त रहेको किसान मुन्नीदेवी थारुले बताइन् ।

धानबालीको बिमा कार्यक्रमबाट किसान खुसी छन् । कृषकहरुको जोखिम हस्तान्तरण पद्दतिमा उत्साहजनक सहभागिता भएको देख्दा खुसी लागेको सहकारीका अध्यक्ष लोकमाया कुवँर बताउँछिन् । मौसमी सूचकाङ्कको आधारमा बिमा कार्यक्रम अन्तर्गत कर्णाली नदीको बाढी सूचकाङ्क मापन गरिएको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कको आधारमा यथाशीघ्र दाबी भुक्तानी गरिने शिखर इन्सोरेन्स गुलरिया शाखा प्रबन्धक ढुन्डीराज रिजालले बताए ।