तपाईले सन्तानले एसइईमा ल्याएको कति नं. र प्रतिशत, कुन ग्रेड र जीपीए हो ?

लेखक : शंकरप्रसाद खनाल
नेपालगन्जको एक विद्यालयले विद्यार्थीलाई बधाइ दिँदै ग्रेड अनुसारको विद्यार्थी संख्या

शंकरप्रसाद खनाल । नेपालगन्ज
छोरो विमोचनले एएसइई दिएको थियो । रिजल्ट आयो । अहिलेको शिक्षा प्रणालीमा अनुत्तीर्ण हुने कुरै भएन । छोरोको पढाइमा गरेको लगानी मैले पनि बधाइबाट असुले । धेरैको जिज्ञासाको जवाफ मैले नै दिनुप-यो । आफ्नो जमाना जस्तै कतिले सोधे, ‘कति नम्बर ल्यायो ?’ कसैको प्रश्न थियो, ‘कुन डिभिजनमा पास भयो ?’ कोहीले प्रतिशत पनि खोजे । ‘कुन ग्रेड र जीपीए कति हो ?’, यस्तै–यस्तै प्रश्नको ओइरो लाग्यो ।
फेसबुकमा हेर्दै थिए । नेपालगन्जका विद्यालयले आफ्ना विद्यार्थीलाई बधाइ दिँदै लेखेको सूचनामा कति जना ए प्लस, कति ए, कति बी प्लस र बी ग्रेड आएको खुसीको खबर थियो । अघिल्लो वर्ष गुल्मीको एउटा विद्यालयले पनि जीपीएलाई ग्रेड बनाएर लेटर प्याडमा प्रधानाध्यापकको हस्ताक्षरसहित सूचना निकालेर हाँसोको पात्र बनेको थियो । मुहार पुस्तिका फेसबुकका भित्ताभरी धेरैले टिनएजर छोराछोरी, भाइबहिनी, आफन्तकालाई एसइई उत्तीर्णको बधाइ दिएको मात्र छ । त्यो खबरमा पनि कतिले प्रतिशत, धेरै जसोले ग्रेडमा गर्व गरेका र केहीले प्राप्त गरेको जीपीए उल्लेख गरेका छन् । एसईईका विद्यार्थी उत्तीर्र्ण हुने प्रणाली के हो भन्ने धेरैका जिज्ञासा पूरा गर्न मलाई यो लेख लेख्न बाध्य बनायो ।

गुल्मीको विद्यालयले एसइईमा प्राप्त गरेको जीपीएलाई आफूखुसी बनाएको ग्रेड

नेपालमा एसएलसी हुँदा नम्बर र एसइईमा लेटर ग्रेडिङबाट नतिजा प्रकाशनको विधि अवलम्वन गरिएको हो ।

एसएलसीको मार्कसिटको नमूना । जसमा अंक प्राप्त भएको छ । प्रतिशत र डिभिजनमा पनि कूmल प्राप्ताङ्कलाई देखाइएको छ ।

एसएलसीको नतिजा श्रेणीमा प्रकाशन हुन्थ्यो । प्रतिशतका आधारमा श्रेणी मापन गरिन्थ्यो । जसमा ८० प्रतिशतभन्दा बढी ल्याउने उच्च श्रेणी, ६०–८० प्रतिशत ल्याउने प्रथम श्रेणी, ४५–६० प्रतिशत ल्याउने दोस्रो श्रेणी, ३२–४५ प्रतिशत ल्याउने तेस्रो श्रेणी र ३२ भन्दा कम प्रतिशत ल्याउने अनुत्तीर्ण हुन्थे । एसइईको नतिजा प्रणाली जीपीए हो । जीपीएको पूरा रुप ग्रेड प्वाइन्ट एभरेज हो अर्थात ग्रेड प्वाइन्टहरुको औसत हो । जीपीएलाई अंकमा लेखिन्छ । कूल प्राप्ताङ्कलाई ग्रेड र प्रतिशतमा परिवर्तन गर्न मिल्दैन । जीपीएले प्रतिशत नदिएर रेञ्ज दिने मात्र हो । ग्रेड र डिभिजनको मूल्याङ्कन प्रणाली नै फरक छ । जीपीए र प्रतिशतबीच तुलना गर्नु पनि भ्रम बाहेक अरु केही होइन । जस्तो: ३.६५ जीपीए आयो भनेको ए प्लस ग्रेड होइन । ३.६५ जीपीए मात्र हो । यसबाट यति प्रतिशत र यो डिभिजन आयो भन्नु पनि गलत हुन्छ ।
सन् १७९२ मा पहिलो पटक क्याम्ब्रिज युनिभर्सिटीले जीपीए प्रयोग गरेको बताइन्छ । अहिले सबैभन्दा बढी युरोपेली मुलुक रसिया, डेनमार्क, फ्रान्स, जर्मनी, फिनल्याण्ड, अफ्रिकाको इजिप्ट र साउथ अफ्रिका, उत्तर अमेरिकाका क्यानडा, अमेरिका, मध्य अमेरिकाकाका कोष्टारिका र निकारागुवा तथा दक्षिण अमेरिकी राष्ट्र चिली, भेनेजुयला, एसियाका चीन, भारत, जापान तथा नेपाल विश्वका ६० भन्दा बढी राष्ट्रका विद्यालय, क्याम्पस र विश्वविद्यालयमा यो प्रणाली अवलम्वन गरिन्छ । नेपालमा पहिलो पटक विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ राष्ट्रिय पाठ्यक्रम तथा मूल्याङ्कन परिषद्बाट २३ मङ्सिर २०७२मा स्वीकृत भएर लागू भएको हो ।

एसइईको लेटर ग्रेडिङ प्रणालीमा विद्यार्थीले विषयगत रुपमा पाएको ग्रेड र कूल प्राप्ताङ्कको जीपीए नम्बरको नमूना

एसइईको नतिजा विषयमा लेटर ग्रेडिङ गरिएको हुन्छ । कुनै विषयमा ए प्लस, ए, बी प्लस, बी आदि आउँछ । कूल प्राप्ताङ्कमा भने जीपीएमा नै हुन्छ । तपाई हामीले एसएलसीमा अंक, प्रतिशत र डिभिजन ल्याएर पास ग¥यौं । पछिल्लो रिजल्ट प्रणालीले विषयमा ग्रेड र कूल प्राप्ताङ्कमा जीपीए हुन्छ । जीपीएलाई ग्रेड, अंक, प्रतिशत वा डिभिजनमा जबरजस्ती देखाउन खोज्नु हास्यादपद कुरा हो । नेपाल सरकारका उच्च अधिकारी, शिक्षक, प्राध्यापक, विद्यालयले पनि जीपीएलाई ग्रेड र प्रतिशतमा देखाउनु भनेको बुझ्ने मान्छेले कि बुझ पचाएका हुन् कि पूरानो प्रणालीप्रतिको मोह नहटेको हो । कि त उनीहरु नजानेर लेखिरहेका छन् । आधा दशकभन्दा बढी समयदेखि हामी यस्तो अभ्यास गरिरहेका छौं फेरि पनि गल्ती कहिलेसम्म गर्ने ? अनि अरुलाई सिकाउनु पर्ने व्यक्ति नै कहिलेसम्म मजाक बनिरहने ? त्यसैले एसइईको रिजल्ट जीपीएमा नै भन्न सिकौं र सिकाऔं ।