बाँके निकुञ्जमा नेपालमै कम बाघ बृद्धि किन ?

File Photo

नेपालगन्ज : चौथो बाघ गणना २०२२ मा देशभर ५१ प्रतिशतले पाटेबाघको संख्यामा बृद्धि भयो तर बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके निकुुञ्जमा बाघको संख्या न्यून बृद्धि भएको छ ।
यो गणनामा सबैभन्दा बढी बाघ बर्दियामा ३८ वटा बढे । जुन अघिल्लो गणनाभन्दा ४३.६७ प्रतिशतले बढ्यो । बर्दियाका ८७ बाट बाघको संख्या १२५ पुगेको छ । संंख्याको हिसाबले देशमै सबैभन्दा धेरै बाघ चितवनमा १२८ वटा छन् । चितवनमा ९३ बाट ३७.६३ प्रतिशतले बृद्धि भयो । पर्सा राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा त बाघको संख्या दोब्बरभन्दा बढी बृद्धि भएको छ । पर्सामा १२७.७७ प्रतिशतले बाघ बृद्धि भएको छ । जहाँ १८ बाट ४१ संख्या पुगेको छ । शुक्लाफाँटामा १२५ प्रतिशतले बढ्यो । जहाँ १६ वटाबाट बाघको संख्या ३६ भएको छ ।
देशमै सबैभन्दा कम १९ प्रतिशत बाघ बृद्धि बाँके निकुञ्जमा भएको छ । जहाँ २१ बाट ४ बढेर संख्या २५ पुगेको छ । अघिल्लो गणनामा देशमा सबैभन्दा बढी बाघ हुने निकुञ्जको तेस्रो स्थानमा रहेको बाँके अहिले बाघ पाउने निकुञ्जको सबैभन्दा पुछारमा पुगेको छ । निकुञ्जका वार्डेन श्यामकुमार शाह बाँके–बर्दिया कम्प्लेक्समा बाघको आवतजावत हुने भएकाले एउटै बाघ दुई तिरको गणनाम देखिनु, आहारा, पानी, बासस्थान लगायतका कुराहरुले पनि बाघ बृद्धि कम भएको बताउँछन् । उनले भने, ‘बाघको संख्या घटेको होइन । पहिलेको तुलनामा न्यून बृद्धि भएको हो । समग्रमा बृद्धि भएकै मान्नुपर्छ । राम्रो छ ।’