प्रेमप्रकाश मल्ल ‘मधुकर’ पुरस्कार कथाकार रेग्मीलाई

नेपालगन्ज : भेरी साहित्य समाजले गीतकार, गायक, कवि एवं सङ्गीतकार स्व. प्रेमप्रकाश मल्ल मधुकरको नाममा स्थापना गरेको यो वर्षको प्रेमप्रकाश मल्ल ‘मधुकर’ पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव कथाकार सनत रेग्मीलाई प्रदान गरेको छ ।
भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्जले ‘मधुकर’को ८७औं जन्मजयन्तीको अवसरमा शनिबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा कथाकार रेग्मीलाई पुरस्कार प्रदान गरेको हो । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, भेरी साहित्य समाज केन्द्रीय समिति सदस्य हरि तिमिल्सैनाले पुरस्कार संस्थापकद्वय बखत मल्ल र वाणीश्री मल्लको उपस्थितिमा कथाकार रेग्मीलाई नगद ५० हजार एक सय ११ रुपैयाँ, सम्मान–पत्र र दोसल्ला ओढाएर प्रदान गरेका हुन् । त्यसैगरी प्रेमप्रकाश मल्ल ‘मधुकर’ सम्मान नेपालगन्जका सायर असफाक रसुल हासमी र कलाकार राजविक्रम चन्द (विक्रम शिशिर) लाई प्रदान गरिएको थियो ।

‘तिमीले पनि बितायौं, मैले पनि बिताए । जसले जसरी बितायो, बित्दो रहेछ जीवन’, स्व. प्रेमप्रकाशको रचना स्मरण गर्दै लेखक÷विश्लेषक नरेन्द्रजंग पिटरले नेपालगन्जको माटोले कला, गला, गीत, संगीतको बहुप्रतिभाशाली व्यक्तित्व गुमाएको बताए । उनले मधुकरबारे भने, ‘जनजीवनका कुरा टपक्क टिप्नेदेखि दर्शनलाई गीत, संगीत र साहित्यमा समेट्न सक्ने दशौं व्यक्ति बराबरको खुबी प्रेमप्रकाशमा थियो । मैले अत्यन्तै श्रद्धा र सम्मान गर्ने व्यक्तिलाई नमन गर्छु ।’

नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले पनि विद्यार्थी राजनीति गर्दा मधुकरलाई भेटेको स्मरण गरे । उनले नेपालगन्जको कला, साहित्यको विकासका लागि उपमहानगरपालिकाले बजेट विनियोजन गरेकाले साहित्यिक संघसंस्थासँग सहकार्य गरेर काम गर्ने बताए । कार्यक्रममा बहुभाषी कवि गोष्ठीमा ८ जना साहित्यकारले नेपाली, उदूलगायतका विभिन्न भाषाभाषी साहित्यिक रचना वाचन गर्नुका साथै प्रेमप्रकाश मल्ल मधुकरका गीत गाएका थिए ।

प्रेमप्रकाशले राष्ट्रिय भावनाका जनजिब्रोमा झुन्डिएका ‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ, पोखरा त साँच्चिकै को पोखरा नै रैछ…, ‘वनकी म चरी कठै बरी कसले सुन्ला मेरो मनको बिलौना…’, बोलका गीत गाएका थिए । उनले लेखेको ‘म मरे पनि मेरो देश बाँचिरहोस् गीतलाई शिवशंकर मानन्धरले गाएका थिए । रुकुममा जन्मिएका प्रेमप्रकाशले नेपालगन्जमा कर्मथलो बनाएका थिए । लामो समय पक्षघातबाट पीडित उनको ७९ वर्षको उमेरमा ११ वैशाख २०७२ मा निधन भएको थियो । उनको सम्झनामा भेरी साहित्य समाजले २०७२ सालदेखि हरेक वर्ष प्रेमप्रकाश मल्ल ‘मधुकर’ पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ ।