संघीय सरकारसँग हातेमालो गर्दै नगर प्रमुख विष्ट

नेपालगन्ज : संघीयताको बितेको ५ वर्ष नेपालगन्ज उपमहानगरपालिकाले संघीय र प्रदेश सरकारबाट अपेक्षाकृत सहयोग पाएन । पूर्वनगर प्रमुख डा.धवलशम्शेर राणाले गाउँपालिकाभन्दा कम बजेट विनियोजन गरेको भनेर सधैं प्रदेश र संघीय सरकारलाई धारे हात लगाइरहे । हुन पनि व्यवहार त्यस्तै भयो । उनको कार्यकालको अन्तिम वर्षसम्म पनि गुनासो नै रह्यो ।

वर्तमान नगर प्रमुख प्रशान्त विष्ट भने संघीय र प्रदेश सरकारसँग हातेमालो गरेर विकास गर्नुपर्ने रणनीतिमा लागेका छन् । नगर प्रमुख विष्टले आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईलाई भेटेर नगरमा विकासका ५ ठूला योजना अघि सारेका छन् । विष्टको सचिवालयका अनुसार जमुनाहदेखि मनिकापुरसम्म असफाल्ट कालोपत्रे निर्माण गर्न, जमुनाहदेखि रांझा चोकसम्म सडक बत्ति तथा ट्राफ़िक लाइट जडान गर्न, नेपालगन्जका बढी भीड हुने चोकहरुमा आकसेपुल निर्माण गर्न, विभिन्न वडाहरुमा १५ किलोमिटर सडक तथा नाला निर्माण गर्न र सडक सुधार तथा स्तरोन्नतीलगायतका माग प्रस्तुत गरेका छन् । राई नेपालगन्जवासी मन्त्री भएकाले पनि नगरमा संघीय सरकारबाट बढी भन्दा बढी फाइदा लिनुपर्नेमा विष्ट देखिन्छन् । विकास प्रेमी पहिचान बनाएका मन्त्री राईले पनि बाँकेको विकासमा कुनै कसर बाँकी नराख्ने बताउँदै आएका छन् ।