बाँके-बर्दियामा बजार अनुगमन : १ लाख जरिवाना, ३४ हजारको सामान नष्ट

नेपालगन्ज : संयुक्त बजार अनुुगमन टोलीले बुधबार बाँके र बर्दियाामा अनुगमन गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईका अनुसार ३० भन्दा बढी पसल एवं व्यवसायिक प्रतिष्ठानहरुको अनुगमन गरि करिब १ दर्जन पसल एवं व्यसायिक प्रतिष्ठानहरुलाई कारबाही गरेर एक लाख १२ हजार रुपैयाँ जरिवाना गरिएको छ भने करिब २२ हजार मूल्य बराबरको खान अयोग्य एवं उपभोग्य म्याद समाप्त भएका वस्तु नष्ट गरिएको छ ।

अनुगमन टोलीमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसी, बर्र्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डे, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद पौड्याल लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी बर्दियाको बासँगढी नगरपालिकाले पनि बुधबार नै बासँगढी बजारको १० वटा किराना पसल अनुगमन गरेको थियो । नगर उपप्रमुख इन्दिरा चौधरीको नेतृत्वमाइलाका प्रसासन कार्यालयका नायव सुब्बा मोहन लम्साल, इलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी सहायक निरीक्षक धनबहादुर केसी, बासँगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेल, नगरपालिकाका अधिकृत विमल पौडेल सहितको टोलीले गरेको बजार अनुुगमनका क्रममा १२ हजार ३ सय २४ रुपैया बराबरको म्याद गुज्रिएका सामान बरामद गरिएको थियो । म्याद गुज्रिएका खाद्यान्न सामान इलाका प्रहरी कार्यलय परिसरमा संयुक्त रुपमा नष्ट गरिएकोे थियो । म्याद गुुज्रिएका सामान राखेर बेच्ने व्यावसायीलाई पहिलो पटक चेतावनी दिएर छोडिएको थियो । अनुगमन टोलीले अनिवार्य मूल्य सूची राख्नसमेत सबै व्यापारीहरुलाई कडा निर्देशन दिएको थियो ।