बागेश्वरी मन्दिरमा रक्षाबन्धन र जनै पूर्णिमाको उल्लास (फोटो फिचर)

नेपालगन्ज : विश्वभरका हिन्दुले शुक्रबार श्रावण शुक्ल पूर्णिमालाई ऋषि तर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व धूमधामसँग मनाउँदैछन् ।
जनैपूर्णिमाका दिन व्रतबन्ध संस्कार गरेका हिन्दू तागाधारीहरूले दाह्री, कपाल, नङ काटेर बिहान स्नान गरी शुद्ध भएर, शुद्ध वस्त्र पहिरेर विधिपूर्वक ब्राह्मणहरूद्वारा मन्त्र एवं स्तुति र पाठ गर्दै पुरानो जनै निकाली नयाँ जनै धारण गर्दछन् । रक्षाबन्धन भने सबैले बाँध्ने गर्छन् । जनै धारण गर्दा र रक्षाबन्धन बाँध्दा शरीरको रोग व्याध निको हुने र रक्षा पनि हुने विश्वास गरिएको छ ।

श्रावण शुक्ल पूर्णिमाका दिन नौ थरीका गेडागुडीको परिकार क्वाँटी बनाएर खाने चलन पनि छ । क्वाँटी खानाले शरीरको गर्मी कम हुने र तागत मिल्ने विश्वास गरिन्छ । मास, मुँग, चना, केराउ, भटमास, बोडी, सिमी, गहत, राजमा एकै ठाउँमा भिजाई टुसा उमारेर तयार गरिएको क्वाँटी पकाएर खानु स्वादिष्ट र स्वास्थ्यको लागि राम्रो मानिन्छ । देशभरका मठ, मन्दिरको वरिपरी ब्राह्मणहरुले रक्षाबन्धन बाँध्ने गर्छन् । शुक्रबार बिहानैदेखि नेपालगन्जको बागेश्वरी मन्दिरमा रक्षाबन्धन बाँध्ने र जनै फेर्नेको घुँइचो लागेको छ ।